Skip to content
nabil bank inside

 डिल्लीबजार कारागारमा सरुवा हुन चाहे रवि लामिछानेले 

nmb bank inside

काठमाडौँ। सहकारी ठगी र संगठित अपराधको आरोपमा जिल्ला कारागार, रुपन्देहीमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेले काठमाडौंस्थित डिल्लीबजार कारागारमा सरुवा हुन चाहेका छन्। सर्वोच्च अदालतको आदेशपछि हिरासत अवधि लम्बिने पक्का भएपछि लामिछानेले राजधानी सरुवा हुने चाहना व्यक्त गरेका हुन्।

यससँग सम्बन्धित प्रक्रिया कारागार प्रशासनले अघि बढाइसकेको छ। जिल्ला कारागार, रुपन्देहीका अनुसार लामिछानेले सरुवाका लागि अनुमति लिइसकेका छन् भने कारागार व्यवस्थापन विभागबाट अन्तिम निर्णय हुन बाँकी छ। गृह मन्त्रालयका एक अधिकारीका अनुसार, अदालतले पनि सरुवाका लागि सहयोग गर्न भनिसकेको छ।

डिल्लीबजार कारागार स्रोतका अनुसार, लामिछानेलाई पूर्वमन्त्री दीपक मनाङे रहेको ‘ख’ ब्लकमा राख्ने तयारी भइरहेको छ। राजधानीमा पार्टी नेताहरू तथा परिवारसँग भेटघाट र कानुनी प्रक्रिया सहज हुने विश्वासका साथ लामिछानेले सरुवा चाहेको रास्वपाका स्रोतले बताएका छन्।

डिल्लीबजार कारागार प्रायः चिनिएका व्यक्ति तथा आर्थिक हैसियत भएका कैदीबन्दीको रोजाइमा पर्ने गर्छ। कम कैदी संख्या, भेटघाट र फोन सुविधा, टेबलटेनिस, क्यान्टिन तथा खुला स्थानमा समय बिताउने सहजताका कारण यो कारागार ‘भीआईपी’ ठानिन्छ।

उक्त  कारागारमा पूर्वमन्त्री खुमबहादुर खड्का, रेशम चौधरी, पूर्वआईजीपी ओमविक्रम राणा, गणेश लामा लगायतले पनि थुनामा समय बिताइसकेका छन्। अहिले कारागार व्यवस्थापन विभागको निर्णयपछि मात्र लामिछानेको सरुवा कार्यान्वयनमा आउनेछ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्