Skip to content

पूर्वप्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् ।शुक्रबार सामाजिक सञ्जालमा कार्कीको फोटोसहितको वक्तव्य जारी गर्दै भट्टराईले कार्की सक्षम र स्वच्छ व्यक्तित्व भएको बताए ।

कार्कीले वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका अन्त्य गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् ।‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन–जीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ । वहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ । हाम्रो तर्फबाट पनि वहाँ गई पूर्णसमर्थन र अग्रिम बधाई, उनले अगाडि लेखेका छन्,‘अब वहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनु पर्छ । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ ।’

त्यस्तै डा. भट्टराईले ०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजीर भने कति पनि मेल नखाने जिकिर गरे । ‘त्यतिवेला विद्यमान ‘अन्तरिम संविधान २०६३ मा’ राजनीतिक सहमतिका आधारमा’ कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी) वीचको सहमति बुझ्नुपर्छ’ भनेर स्पष्टीकरण समेत त्यहीं राखिएको थियो । तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेन जी ले धेरै संवेदनशील भएर सोच्नुपर्छ । अहिलेको आन्दोलन भन्दा पनि ठूलो वलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेन जी को दीर्घकालीन हितमा हुनेछ ।’

arrow प्रतिक्रिया दिनुहोस्