Skip to content

उपचार सहयोग रोक्नुहोला, सबैलाई धन्यवाद : सावित्रा भण्डारी ‘साम्बा’

nmb bank inside

काठमाडौं । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब सहयोग रकम रोक्न आग्रह गरेकी छन् ।मंगलबार सामाजिक सञ्जालमार्फत उनले पछिल्लो २४ घण्टामा आफूले पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएको उल्लेख गरिन् । आर्थिक सहयोग मात्र नभई अन्य साथ र समर्थनले आफूलाई शल्यक्रिया तथा पुनस्र्थापनाका लागि ऊर्जा दिएको उनको भनाइ छ ।

भण्डारीका अनुसार उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्यूजिल्यान्ड डलर) संकलन भइसकेको छ । विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले थप सहयोगको प्रतिबद्धता जनाएकाले उपचार खर्च, आवास तथा यातायात व्यवस्थापन पुग्ने देखिएको उनले बताइन् ।

यसैबीच उनी आबद्ध क्लबे वेलिंगटन फिनिक्सलले पनि शल्यक्रिया र पुनस्र्थापनाका लागि बीमा रकम निकासा गरी उपचार प्रक्रियामा सहजीकरण गरिरहेको जनाइएको छ । छिट्टै शल्यक्रिया मिति तय हुनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरिन् ।चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि कठिन समय गुज्रिएको बताउँदै उनले समर्थकको साथले पुनः मैदान फर्कने आत्मविश्वास दिएको बताइन् ।

उनले दृढतापूर्वक भनिन्, आफू अझ मजबुत भएर फर्कनेछिन् र पुनः नेपालको जर्सी लगाएर देशका लागि खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

आदरणीय समर्थकहरू,
आज ’धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनस्र्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।
खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरी एकपटक ह्रदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो ।
मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ–संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।
म आवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनस्र्थापनाका लागि विमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको छ । चाडैं नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्नेमा विश्वस्त छु ।
यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ ।
म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।
मेरो तर्फबाट “धन्यवाद” मात्र पर्याप्त हुँदैन । तपाईंहरूको यो माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ । फेरि नेपालको जर्सी लगाएर देशको लागि जित्ने मेरो प्रतिवद्धता हुनेछ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्