काठमाडौं । ललितपुर–१ बाट बुद्धरत्न महर्जन विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार महर्जनले कांग्रेसका उम्मेदवार उदयशमशेर जबरालाई झण्डै १० हजार मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् ।

निर्वाचन परिणामअनुसार महर्जनले २३ हजार ३७३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री जबराले १३ हजार ५२० मत प्राप्त गरेका छन् ।विजयपछि प्रतिक्रिया दिँदै महर्जनले ललितपुर–१ का सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गरेका छन् । उनले अमूल्य मत दिएर आफूलाई विजयी बनाएकोमा जनताप्रति कृतज्ञता व्यक्त गर्दै अब जनताकै बीचमा गएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘ललितपुर क्षेत्र नम्बर १ का सबै मतदातालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । अमूल्य मत दिएकोमा सम्पूर्ण जनतालाई धन्यवाद,’ उनले भने ।महर्जनले सदनमा प्रवेश गर्नुभन्दा अघि आम जनताको घरघरमा पुगेर उनीहरूको समस्या बुझ्ने योजना बनाएको पनि बताएका छन् । जनताका समस्यालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनको भनाइ छ ।

उनले भने, ‘अब सदन प्रवेश गर्नुभन्दा अगाडि आम जनताको घरघरमा छिरेर उहाँहरुको समस्यालाई बुझेर त्यसपछि मात्रै म सदन छिर्ने योजनामा छु । म आमजनताको समस्यालाई लिएर अगाडि बढ्न चाहन्छु ।’