काठमाडौँ। काठमाडौंमा नयाँ वर्षको अवसर पारेर उपत्यकामा रात्रिकालीन बस सेवाको शुभारम्भ भएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यो सेवाको शुरुवात गर्दै यसलाई निरन्तरता र विस्तार गरिने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।
हाललाई दुईवटा रुटबाट शुरु गरिएको यो सेवालाई क्रमशः अन्य रुटहरूमा पनि विस्तार गरिने डंगोलले बताएकी छिन । रिङरोड र अन्य क्षेत्रमा पनि रात्री सेवाको माग भइरहेको उनको भनाइ थियो । रात्री सेवा मात्र नभई बिहान सबेरै काममा जाने श्रमिक र बिहान ६ बजे कलेज जाने विद्यार्थीका लागि साढे ४ देखि ५ बजे नै बस सेवा शुरु गर्ने तयारी भइरहेको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन् । यसका लागि बुढानीलकण्ठ र चन्द्रागिरी नगरपालिकाले चार्जिङ स्टेशनका लागि ठाउँ उपलब्ध गराउने प्रतिवद्धता जनाइसकेका छन् । चार्जिङ स्टेशनको व्यवस्था भएपछि बिहानको सेवा पनि प्रभावकारी हुने उनले बताइन् ।
विगतमा रात्रिकालीन बस सेवा असफल हुनुको मुख्य कारण ‘नाफामुखी’ (प्रफिट ओरिएन्टेड) सोच रहेको उल्लेख गर्दै डंगोलले यसपटक सेवाको प्रभावकारितालाई जोड दिइने बताइन् । यो सेवालाई दिगो बनाउन काठमाडौं महानगरपालिका एक्लैले नभई उपत्यकाका सबै पालिकाहरूले अपनत्व लिनुपर्ने र वित्तीय साझेदारी गर्नुपर्नेमा उनले जोड दिइन् । रात्रीकालीन अर्थतन्त्र (नाइट इकोनोमी) र पर्यटन क्षेत्रसँग जोडिएका निजी संघसंस्थाहरूलाई पनि यसमा सहभागी गराइने उनले बताइन् । सेवालाई दिगो बनाउन एउटा छुट्टै कोष (फण्ड) खडा गर्ने योजना समेत रहेको समेत उनले जानकारी दिइन् ।
व्यवस्थित, सुरक्षित र वातावरणमैत्री यातायातको माध्यमबाट सिङ्गो काठमाडौं उपत्यकालाई अझ बढी गतिशील र सुरक्षित बनाउने लक्ष्यका साथ यो यात्रा शुरु गरिएको कार्यवाहक प्रमुख डंगोलको भनाइ छ । २०८३ साल वैशाख १ गतेदेखि उपत्यकाका मुख्य रुटहरूमा राती ११ बजेसम्म बस सेवा सञ्चालन भएको हो । रात्रिकालीन समयमा काम गर्ने व्यवसायी, अस्पताल आवतजावत गर्ने यात्रु, आन्तरिक तथा बाह्य पर्यटक र आम नागरिकलाई सुरक्षित र भरपर्दो यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले यो सेवा शुरु गरिएको बताइएको छ ।
राती ८ बजेदेखि ११ बजेसम्म प्रत्येक २० मिनेटको अन्तरालमा बसहरू सञ्चालन हुनेछन् पहिलो चरणमा लगनखेलदेखि बुढानीलकण्ठ र नागढुङ्गा (थानकोट चेकपोस्ट) देखि एयरपोर्ट रुटमा विद्युतीय बस सेवा सञ्चालन हुनेछ । मागका आधारमा क्रमशः चक्रपथ र भक्तपुर क्षेत्रमा पनि सेवा विस्तार गरिनेछ । रात्रिकालीन यात्रालाई सुरक्षित र मर्यादित बनाउन प्रत्येक बसमा काठमाडौं महानगरपालिकाका एक–एक जना नगर प्रहरी पोशाकमा खटिनेछन् । २०८३ असार मसान्तसम्मको सञ्चालन खर्च साझा यातायात स्वयंले व्यहोर्नेछ । त्यसपछि टिकट आम्दानीले खर्च धान्न नसकेको अवस्थामा सम्बन्धित नगरपालिकाहरूले बजेट विनियोजन गरी शोधभर्ना गर्ने सहमति भएको छ । यसका लागि ‘रात्रिकालीन साझा बस सञ्चालन बास्केट फण्ड’ समेत खडा गरिनेछ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्