Skip to content

गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता

nmb bank inside

रसुवा । भोटेकोशीमा आएको बाढीका कारण श्रीमान् गुमाएकी रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीकी २९ वर्षीया सुत्केरी महिला र उनकी नवजात छोरीका लागि नेपाल सरकारले दीर्घकालीन स्याहार तथा संरक्षण कार्यक्रम सुरु गरेको छ ।

बाढीका कारण श्रीमान् गुमाएपछि सुत्केरी अवस्थामै आर्थिक तथा पारिवारिक चुनौतीको सामना गरिरहेकी ती महिलाको नाममा रहेको कुमारी बैंकको खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गर्दै सरकारले कार्यक्रमको औपचारिक सुरुवात गरेको हो ।

२०८३ मङ्सिर १० गते महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी स्वयं गोल्जुङबेसी पुगेर सहयोग रकम हस्तान्तरण गरेकी हुन् । अब ती नवजात शिशुले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक १७ हजार ५०० रुपैयाँ सहायता प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

यो कार्यक्रम नेपाल सरकारद्वारा कार्यान्वयनमा ल्याइएको ‘विपद् प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना’ अन्तर्गत सञ्चालन गरिएको हो ।

राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटीजिएफ संस्थाबीचको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी विशेष सहायता प्याकेज लागू गरिएको हो ।

योजनाका अन्य प्याकेजअन्तर्गत मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई MITGF, SOS Children लगायतका साझेदार संस्थासँगको सहकार्यमा संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ ।

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अवस्था पहिचान, लेखाजोखा तथा दीर्घकालीन स्याहार योजना निर्माणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँचवटा टोली गत सातादेखि प्रभावित क्षेत्रमा परिचालित छन् ।

स्थलगत अध्ययन तथा लेखाजोखाका क्रममा गोल्जुङबेसीकी सुत्केरी महिला र नवजात शिशुको संवेदनशील अवस्था पहिचान भएपछि मन्त्री वादीले यस विषयमा विशेष चासो व्यक्त गरेकी थिइन् । उनी स्वयं प्रभावित क्षेत्रमा पुगेर सहायता हस्तान्तरण गरेसँगै सरकारले विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार कार्यक्रमको सुरुवात गरेको हो ।

मन्त्री वादीका अनुसार हालसम्म राष्ट्रिय बाल अधिकार परिषद्सँग विभिन्न साझेदार संस्थामार्फत कुल ८१० जना बालबालिकाको दीर्घकालीन स्याहार योजनामा योगदान गर्ने सहायता प्याकेज उपलब्ध छ ।

जसअनुसार MITGF मार्फत १५० जना, SOS मार्फत ६५० जना र प्रविना फाउन्डेशनमार्फत १० जना बालबालिकालाई सहयोग गर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयको बालकोषमा सात करोड रुपैयाँ रहेको तथा बाढी प्रभावित बालबालिकाको संरक्षण र स्याहारका लागि MITGF र नेपाल सरकारबीच ५८ करोड रुपैयाँ बराबरको सम्झौता सम्पन्न भइसकेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्