एफपिक कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक
काठमाडौं । आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति (एफपिक) कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा ह्योल्मो लामा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान कार्यालय प्रमुख रामकुमार मादेनले संयुक्तरुपमा विहीबार निर्देशिका सार्वजनिक गरेका हुन् ।
निर्देशिका सार्वजनिक कार्यक्रममा अध्यक्ष थापामगरले आदिवासी जनजाति समुदायको पुर्ख्यौली थातथलोमा उनीहरूको स्वतन्त्र र पूर्वसूचित सहमतिबिना कुनै पनि विकास आयोजना तथा गतिविधि सञ्चालन गर्न नपाइने व्यवस्था निर्देशिकामा गरिएको जानकारी दिए ।
उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि नं. १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (यूएनड्रिप) ले आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका आवश्यक भएको बताए ।
अध्यक्ष थापामगरका अनुसार आधुनिक विकासका नाममा सरकार, गैरसरकारी निकाय तथा नाफामूलक संस्थाले आदिवासी जनजातिको सहमतिबिना उनीहरूको परम्परागत थातथलोमा विभिन्न परियोजना सञ्चालन गर्दै आएका छन् । यस्तो अवस्थाको अन्त्य गर्दै समुदायको अधिकार सुनिश्चित गर्न निर्देशिका तयार गरिएको हो ।
नेपाल सरकारले आईएलओ महासन्धि नं. १६९ अनुमोदन गरिसकेको र संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रसमेत भएकाले आदिवासी जनजातिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्नु सरकारको दायित्व रहेको उनको भनाइ छ ।
निर्देशिकामा सम्बन्धित आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसूचित सहमतिबिना सरकारी, गैरसरकारी तथा बहुराष्ट्रिय कम्पनीले कुनै पनि परियोजना सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ । परियोजना निर्माणअघि नै सम्बन्धित समुदायको प्रतिनिधिको सहभागितामा नक्साङ्कन गर्नुपर्ने र परियोजनाबाट हुने फाइदा तथा बेफाइदाबारे समुदायलाई जानकारी दिनुपर्ने उल्लेख छ । समुदायलाई हानि पुग्ने देखिएमा त्यस्ता परियोजना अस्वीकार गर्न सकिने व्यवस्था पनि निर्देशिकामा समेटिएको छ ।
त्यस्तै, एफपिक प्रक्रियामा सहजीकरणका लागि नेपाल आदिवासी जनजाति महासंघ, सम्बन्धित संघसंस्था तथा विज्ञहरूको भूमिका रहने भए पनि सहमति दिने वा नदिने अन्तिम निर्णय सम्बन्धित समुदायको प्रथाजन्य संस्थाले गर्ने व्यवस्था गरिएको छ ।
सरकार संलग्न परियोजनामा सरकार, लगानीकर्ता र प्रभावित समुदायबीच त्रिपक्षीय करार गर्नुपर्ने, एफपिक प्रक्रियामा लाग्ने सम्पूर्ण आर्थिक तथा भौतिक दायित्व परियोजनाले नै व्यहोर्नुपर्ने र सहमति प्राप्त भइसकेपछि पनि समुदायलाई असर पर्ने देखिए परियोजना स्थगन गर्न सकिने प्रावधान निर्देशिकामा राखिएको छ ।
यसैगरी, एफपिक कार्यान्वयनका क्रममा उत्पन्न हुने द्वन्द्व तथा गुनासोको सुनुवाइ आदिवासी जनजाति आयोगले गर्ने व्यवस्था गरिएको छ । कार्यान्वयन सहजीकरणका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षको नेतृत्वमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिसहितको राष्ट्रिय सहजीकरण संयन्त्र गठन गर्ने प्रस्ताव पनि निर्देशिकामा छ ।
अध्यक्ष थापामगरले नेपालका करिब ३५ प्रतिशत जनसंख्या आदिवासी जनजाति समुदायको रहेको उल्लेख गर्दै सरकारले निर्देशिकालाई आधिकारिक सरकारी दस्तावेजका रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । यसका लागि आवश्यक कानुन निर्माण तथा संशोधन गर्न आयोगले सरकारलाई सिफारिस गर्ने उनको भनाइ छ ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्