काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बिमा शुल्क रु ३२ अर्ब ५३ करोड बराबर सङ्कलन भएको छ ।
कूल बिमा शुल्क २०८१ फागुनसम्मको तुलनामा चालु आवको फागुन मसान्तसम्म १६ दशमलव एक प्रतिशतले वृद्धि भई रु एक खर्ब ६० अर्ब २२ करोड बराबर पुगेको छ । गत फागुन मसान्तसम्म सक्रिय बिमालेखमध्ये जीवन बिमातर्फको सङ्ख्या एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फको सङ्ख्या २१ लाख ६८ हजार ४५ बराबर रहेको छ । चालु आवको फागुनसम्म जीवन बिमातर्फ एक लाख २५ हजार ८३० बिमा दाबीअन्तर्गत रु २६ अर्ब ८४ करोड बराबरको रकम दाबी भुक्तानी गरिएको सर्वेक्षणमा उल्लेख छ ।
निर्जीवन बिमातर्फ ९४ हजार २१५ बिमा दाबीअन्तर्गत रु १७ अर्ब ३१ करोड बराबरको रकम भुक्तानी गरिएको छ । बिमा क्षेत्रमा जीवन र लघु जीवन बिमातर्फ गरी १२ हजार ४३० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । सर्वेक्षण अनुसार २०८१ फागुनसम्म करिब चार लाख १२ हजार ४५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा छन् । निर्जीवन बिमा व्यवसायको क्षति मूल्याङ्कन गर्ने एक हजार २२४ सर्भेयर र १६ पुनःबिमा अभिकर्ताले रोजगारी पाएका छन् ।
सञ्चय कोषको सम्पत्ति छ खर्ब ४२ अर्ब ३५ करोड
यसैगरी, गत पुससम्म कर्मचारी सञ्चय कोषको सम्पत्ति तथा दायित्व रु छ खर्ब ४२ अर्ब ३५ करोड बराबर पुगेको छ । सो अवधिमा सञ्चयकर्ताको सञ्चित रकम रु पाँच खर्ब ७८ अर्ब छ करोड बराबर छ ।
कोषले विभिन्न क्षेत्रमा गरी रु दुई खर्ब २९ अर्ब ४९ करोड बराबरको रकम लगानी गरेको छ । यस्तै रु तीन खर्ब ८१ अर्ब ६१ करोड बराबरको कर्जा तथा सापटी प्रदान गरेको छ ।
सर्वेक्षण अनुसार गत पुस मसान्तसम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व रु तीन खर्ब १९ अर्ब ५० करोड बराबर पुगेको छ । सो अवधिमा बचतकर्ताको सञ्चित रकम रु दुई खर्ब ८२ अर्ब ३७ करोड बराबर छ । कोषले विभिन्न क्षेत्रमा रु एक खर्ब ९२ अर्ब ९४ करोड लगानी गरेको छ । रु ९१ अर्ब ५६ करोड बराबरको रकम कर्जा तथा सापटी प्रदान गरेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्