काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले शैक्षिक क्षेत्रमा कानुनी स्पष्टता नभएसम्म बैंकहरूले ढुक्क भएर लगानी गर्न नसक्ने बताएका छन् । राज्यले शिक्षा क्षेत्रलाई स्पष्ट नीतिमा नबाँधी केवल ’सेवाभाव’ भनेर गोलमटोल कुरा मात्रै गरिरहे बैंकहरूले यस क्षेत्रमा लगानी नगर्ने चेतावनी दिएका हुन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयक प्यानल डिस्कसनमा बोल्दै सीईओ ज्ञवालीले नीतिगत स्ष्टताको खाँचो औंल्याए ।
ज्ञवालीले कुल बैंकिङ लगानीको करिब ३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा रहेको जानकारी दिए। उक्त लगानी मेडिकल कलेज, म्यानेजमेन्ट कलेज र ठूलो हिस्सा विदेशमा पढ्न जाने विद्यार्थीहरूमा केन्द्रित रहेको उनले बताए।
शिक्षा क्षेत्रमा बैंकको ठुलो भरोसा रहेको उदाहरण दिँदै उनले नबिल बैंक एक्लैले मात्र यस क्षेत्रमा २२ अर्ब रुपैयाँ लगानी गरेको तथ्य समेत प्रस्तुत गरे।
कार्यक्रममा बोल्दै सीईओ ज्ञवालीले भने, ’शिक्षा नीति सरकार परिवर्तन हुनेसँगै परिवर्तन हुनु हुँदैन, जसका कारण निजी क्षेत्र अहिले निराश छ। शिक्षालाई सेवाभाव मात्रै भनेर गोलमटोल कुरा गर्ने हो भने बैंकले यस क्षेत्रमा लगानी बढाउँदैन। बैंकले सर्वसाधारणको पैसालाई यति हल्का ढंगले लगानी गर्न सक्दैन।’
ज्ञवालीले बैंकहरू नाफामूलक संस्था भएकाले लगानी सुरक्षित हुने र प्रतिफल आउने सुनिश्चितता खोज्ने स्पष्ट पारे ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्