Skip to content

बीमा सम्बन्धी भ्रम फैलाउनेलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

nmb bank inside

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी भ्रामक सूचना तथा अतिरञ्जित प्रचारप्रसार गर्ने अभिकर्ता र मध्यस्थकर्तामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले परिपत्र जारी गर्दै इजाजतपत्र प्राप्त सबै बीमा अभिकर्तालाई यस्तो निर्देशन दिएको हो।

जारी परिपत्रमा ‘बीमा ऐन, २०७९’ तथा प्रचलित आचारसंहिताविपरीत कुनै पनि प्रकारको भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार नगर्न स्पष्ट रूपमा भनिएको छ। प्राधिकरणका अनुसार पछिल्लो समय बीमा व्यवसायमै प्रतिकूल असर पर्नेगरी गलत सूचना फैलाउने गतिविधि बढ्दै गएको र यस सम्बन्धमा उजुरीसमेत परेपछि यस्तो कदम चालिएको हो।

प्राधिकरणले ‘बीमा अभिकर्ता निर्देशन, २०८३’ को दफा १९ अनुसार अभिकर्ताको आचारसंहितामा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमता, सेवा तथा व्यवसायबारे गलत वा अतिरञ्जित जानकारी दिन नपाइने व्यवस्था रहेको स्मरण गराएको छ। उक्त प्रावधानविपरीत गतिविधि गर्ने अभिकर्ता तथा मध्यस्थकर्तालाई सचेत गराउँदै प्राधिकरणले तत्काल यस्ता कार्य रोक्न निर्देशन दिएको छ।

साथै, आगामी दिनमा पनि यस्ता गैरजिम्मेवार गतिविधि दोहोरिएको पाइएमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले बीमा क्षेत्रको विश्वसनीयता कायम राख्न सबै सरोकारवालालाई जिम्मेवार र पारदर्शी रूपमा कार्य गर्न आग्रह गरेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्