Skip to content

परिवर्तनशील विश्वमा विश्वास पुनर्निर्माण गर्न शेरधन राईको जोड

nmb bank inside

काठमाडौं । नेकपा (एमाले) का सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माण, संवाद र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

दक्षिण कोरियाको राजधानी सोलमा जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनको १३औँ महासभालाई सम्बोधन गर्दै राईले विश्वमा देखिएका विभिन्न चुनौती समाधान गर्न द्वन्द्वभन्दा संवाद र विभाजनभन्दा सहकार्य आवश्यक रहेको बताएका हुन् ।

नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै उनले सबै राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय समस्याहरूको समाधान वार्ता र संवादका माध्यमबाट खोजिनुपर्ने नेपालको धारणा रहेको उनको भनाइ थियो ।

नेपाल भारत र चीनजस्ता दुई ठूला छिमेकी राष्ट्रको बीचमा अवस्थित रहेको उल्लेख गर्दै राईले दुवै देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले महत्त्व दिँदै आएको बताए । नेपालको भौगोलिक अवस्थिति राष्ट्रहरूलाई विभाजित गर्ने नभई जोड्ने माध्यम बन्नुपर्ने उनको धारणा थियो ।

राईले अन्तर्राष्ट्रिय सम्बन्धले आम नागरिकको जीवनमा प्रत्यक्ष लाभ पुर्याउनुपर्ने बताए । युवाका लागि रोजगारी, व्यवसायीका लागि अवसर, विद्यार्थीका लागि शिक्षा तथा प्रविधि र श्रमिकका लागि सुरक्षा एवं सम्मान आवश्यक रहेको उनले उल्लेख गरे ।

नेपालमा जलविद्युत् तथा स्वच्छ ऊर्जाको क्षेत्रमा प्रशस्त सम्भावना रहेको भन्दै उनले त्यसलाई आर्थिक अवसरमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय लगानी र प्रविधिको स्वागत गरिने बताए । विदेशमा कार्यरत लाखौँ नेपाली श्रमिकको योगदानको प्रशंसा गर्दै उनीहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए ।

सम्बोधनका क्रममा राईले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम र त्यसको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । 

भोटेकोशी क्षेत्रसहित नेपालका विभिन्न स्थानमा हालै आएका विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गर्दै उनले प्रभावित परिवारले घर, जीविकोपार्जनका आधार र सुरक्षाको अनुभूति गुमाएको बताए ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून रहे पनि जलवायु परिवर्तनका गम्भीर असर नेपाली जनताले भोग्नुपरेको उनको भनाइ थियो । 

जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने मुलुक र समुदायले नै बढी क्षति बेहोर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउँदै उनले प्रभावित राष्ट्रलाई सहानुभूतिसँगै व्यावहारिक सहयोग, प्रविधि, लगानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।

जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या नभई विश्व समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै राईले यसका असर न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राखे ।

उनले फरक राजनीतिक विचार र पृष्ठभूमि भएका देश तथा दलहरूबीच पनि संवादको निरन्तरता आवश्यक रहेको बताए । टकरावको सट्टा संवाद, विभाजनको सट्टा सहकार्य र द्वन्द्वको सट्टा शान्तिलाई प्राथमिकता दिन उनले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे ।

राईले विश्वका विभिन्न देशका नागरिकका भाषा, संस्कृति र राष्ट्रियता फरक भए पनि उनीहरूका आधारभूत आकांक्षा समान रहेको बताए । हरेक अभिभावक आफ्ना सन्तान सुरक्षित भएको देख्न चाहने, युवाहरू अवसरको खोजीमा रहने र परिवारले शान्तिपूर्ण तथा समृद्ध भविष्यको अपेक्षा गर्ने उनको भनाइ थियो ।

‘हाम्रा झण्डा फरक हुन सक्छन् र हामीले बोल्ने भाषा पनि फरक हुन सक्छ, तर हाम्रो मानवता एउटै छ। हामीसँग एउटै विश्व छ र यो हामी सबैको साझा हो,’ उनले भने ।

भावी पुस्ताका लागि विश्वलाई अझ सुरक्षित र बसोबासयोग्य बनाउन सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिँदै राईले इतिहासले विभाजनका भिन्नताभन्दा आपसी विश्वास, संरक्षण गरिएको शान्ति र सामूहिक रूपमा निर्माण गरिएको भविष्यलाई सम्झिनुपर्ने धारणा व्यक्त गरे ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्