Skip to content

दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त

nmb bank inside

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय गरेको छ ।

आयोगले २०८३ मङ्सिर ३ गते प्रकाशन गरेको सूचनाअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको जानकारी प्राप्त भएकाले २०८३ मङ्सिर २ गते पद रिक्त हुने निर्णय गरिएको हो ।

पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गरी दल त्याग गरेको व्यहोरासहित केन्द्रीय समन्वय समितिको निर्णयको प्रतिलिपि आयोगमा प्राप्त भएपछि नियमावलीको नियम २२ को उपनियम (२) अनुसार सूचना सार्वजनिक गरिएको जनाइएको छ ।

सिराहाको लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतो, सखुवानन्कारकट्टी गाउँपालिका–४ का वडा अध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडा अध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ ।

यस्तै पर्साको कालिकामाई गाउँपालिका–१ का वडा अध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडा अध्यक्ष सञ्जय कुमार पटेलको पद पनि रिक्त भएको छ ।

खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईको पद रिक्त भएको छ ।

खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडा अध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता विक, वडा सदस्यद्वय रामधन राई र शहर मनी राई तथा नगरकार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नालको पद रिक्त भएको छ ।

यसैगरी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडा अध्यक्ष बाल चन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडा अध्यक्ष छत्र बहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडा अध्यक्ष ढाल बहादुर गुरूङ र सुनसरीको कोशी गाउँपालिका–६ का वडा अध्यक्ष जुडिलाल कौडगियाको पद स्वतः रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्