Skip to content

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

nmb bank inside

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै पनि कूटनीतिक नियोगमा प्रवेश गरेपनि पक्राउ पर्ने भएकी छन् । बंगलादेशकी विदेश मामिलासम्बन्धी राज्यमन्त्री–२ शमा ओबेद इस्लामले विदेशमा रहेका बंगलादेशका ८४ वटै कूटनीतिक नियोगलाई बंगलादेशकै भूभाग मानिने भन्दै हसिना त्यहाँ पुगे पनि पक्राउ गरिने बताएकी छन् ।

द डेली स्टारका अनुसार मंगलबार विदेश मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री इस्लामले हसिना बंगलादेश फर्किए तत्काल पक्राउ गरी जेल पठाइने सरकारको अडान दोहो¥याएकी हुन् । उनले हसिना जहाँ गए पनि पक्राउबाट उम्कन नसक्ने बताइन् ।

‘विदेशमा रहेका हाम्रा ८४ वटै कूटनीतिक नियोगलाई बंगलादेशकै भूभाग मानिन्छ । उनी जहाँ गए पनि पक्राउ पर्नेछिन्,’ उनले भनिन् । राज्यमन्त्री इस्लामले हसिनालाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा दोषी ठहर भइसकेको व्यक्ति भन्दै उनीमाथि अन्य फरार दोषीलाई लागू हुने कानुन नै कार्यान्वयन गरिने बताइन् । विदेशबाट फर्किने कुनै पनि अभियुक्त वा दोषीलाई तत्काल पक्राउ गरी जेल पठाइने र हसिनाका हकमा विशेष व्यवहार नगरिने उनको भनाइ छ ।

उनको यो भनाइ हसिनाले आगामी डिसेम्बर १६ मा बंगलादेश फर्किने इच्छा व्यक्त गरेको खबर सार्वजनिक भइरहेका बेला आएको हो । हसिनाले भारतको नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्समार्फत स्वदेश फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन बंगलादेश सरकारसँग आग्रह गरेको समाचार सार्वजनिक भएको थियो ।

तर, राज्यमन्त्री इस्लामले हसिनालाई स्वदेश ल्याउन सरकारले कुनै तयारी नगरेको स्पष्ट पारिन् । उनका अनुसार हसिनालाई ल्याउन विमान, हेलिकोप्टर, बस, कार वा रिक्सा पठाउने विषयमा समेत सरकारभित्र कुनै छलफल भएको छैन ।

‘डिसेम्बर १६ वा १७ मा फर्किने भन्ने राजनीतिक प्रचारको कुनै अर्थ छैन । उनी आउन सक्छिन्, तर आएमा पक्राउ गरी जेल पठाइनेछ,’ उनले भनिन् । बंगलादेश सरकारले विदेशमा शरण लिएका दोषी व्यक्तिलाई स्वदेश फर्काउन कूटनीतिक माध्यम र विद्यमान सुपुर्दगी सन्धिअनुसार पहल गरिरहेको पनि उनले बताइन् । यस विषयमा भारत सरकारसँग निरन्तर संवाद भइरहेको उनको भनाइ छ ।

राज्यमन्त्रीले अवामी लिगका नेता तथा कार्यकर्ताले बंगलादेशमा अशान्ति सिर्जना गर्ने गतिविधि गरिरहेको आरोपसमेत लगाइन् । देश छाडेपछि हसिनाले आफ्ना समर्थकलाई अलपत्र पारेको उनको आरोप थियो । मानवताविरुद्धका अपराधमा दोषी ठहर भएका व्यक्तिलाई राहदानी वा राष्ट्रिय परिचयपत्र जारी गर्न सरकार बाध्य नरहेको पनि उनले बताइन् ।

यसअघि विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले पनि ढाकामा विदेशी कूटनीतिज्ञलाई जानकारी गराउने क्रममा हसिना स्वदेश फर्किए पक्राउ पर्ने चेतावनी दिएका थिए । उनले अवामी लिगले सार्वजनिक शान्ति र व्यवस्थामा असर पार्न सक्ने गतिविधि सुरु गरेको आरोपसमेत लगाएका थिए । यसैबीच, हसिनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेपछि बंगलादेशको सीमा सुरक्षा बल (बीजीबी) ले भारतसँगको सीमा क्षेत्रमा गस्ती बढाएको समाचारमा उल्लेख छ ।

सन् २०२४ जुलाईमा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि अगस्ट ५ मा बंगलादेश छाडेर भारत पुगेकी हसिना त्यसयता नयाँदिल्लीमा रहँदै आएकी छन् । सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेको दिनको सम्झनामा बंगलादेशले हरेक वर्ष डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाउँदै आएको छ । एएनआई

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्