Skip to content

तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी

nmb bank inside

काठमाडौं । नेपाली सिनेमाका चर्चित अभिनेता भुवन केसी र अर्जुनजंग शाही करिब ३० वर्षपछि पुनः एउटै पर्दामा देखिने भएका छन् । सिनेमा ‘सन्तान’ पछि यी दुई कलाकारको पुनर्मिलन नयाँ सिनेमा ‘तिमी मेरो म तिम्रो’ मार्फत हुन लागेको हो ।

तीन दशकपछि एउटै पर्दामा फर्किन लागेका यी दुई कलाकारलाई जोड्ने कथामा आखिर त्यस्तो के विशेष छ ? ३० वर्षको अन्तरालपछि हुन लागेको यो पुनर्मिलनले सिनेमाको कथालाई कस्तो मोड दिनेछ ? यतिबेला चासोको विषय बनेको छ।

सिनेमाको शीर्षकले नै प्रेमकथाको संकेत गर्छ । हँसाएर दर्शकको मन जित्दै आएका जितु नेपाल यसपटक प्रेमको कथामा दर्शकलाई हँसाउने हुन् कि रुवाउने पनि ?

प्रेम र सम्बन्धका यस्तै रोचक प्रश्नलाई सिनेमा ‘तिमी मेरो म तिम्रो’ ले पर्दामा प्रस्तुत गर्ने टिमको दाबी छ ।

सन्तोष अधिकारी फिल्म्सको प्रस्तुति तथा एसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालिको सहकार्यमा निर्माण हुन लागेको फिल्मको निर्देशन घनश्याम लामिछानेले गर्दैछन् । सिनेमाको पटकथा मनिष गौतमले लेखेका हुन् ।

सिनेमाको विषयवस्तुबारे प्रस्ट पार्दै निर्देशक लामिछानेले आफूले सधैं सिनेमामा फरक विषयवस्तु प्रयोग गर्दै आएको र यसपटक पनि दर्शकलाई केही भिन्न स्वाद दिने प्रयास गरेको बताएका छन् । प्रेममा उमेरभन्दा भावना ठूलो हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि फिल्मको कथासँग जोडिएको उनको भनाइ छ ।

यसअघि ‘चित्रा’ निर्माण गरिसकेको सन्तोष अधिकारी फिल्म्स र विभिन्न सिनेमामा सहकार्यको अनुभव बटुलेको एसएपी इन्टरटेनमेन्ट अस्ट्रेलिया प्रालि यो नया सिनेमालाई लिएर उत्साहित छन् । कार्यकारी निर्माता सन्तोष अधिकारीसहित निर्देशक तथा सम्पूर्ण निर्माण टोलीले यो सिनेमालाई विशेष महत्त्वका साथ अगाडि बढाइरहेको छ।

नरेन्द्र मैनालीले छायांकन गर्ने सिनेमा हाल प्रि–प्रोडक्सनको काम चलिरहेको छ। सिनेमाको छायांकन अंग्रेजी नयाँ वर्षबाट सुरु गर्ने तयारी भइरहेको निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । यसका साथै सिनेमाको आवश्यक पूर्वतयारी तथा अन्य काम भइरहेको उनले बताए ।

गत वैशाखमा निर्माण घोषणा गरिएको यो सिनेमामा भुवन, अर्जुनजंग, जितुसँगै सन्तोष अधिकारी, रिहान गिरी, प्रतिमा थापाको पनि मुख्य अभिनय रहने बताइएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्