अन्तर्राष्ट्रिय बाल दिवस : बालअधिकार संरक्षण र बालविवाह अन्त्यमा साझा प्रतिबद्धताको आह्वान
मनिषा बस्नेत, नेपाल न्यूज बैंक
काठमाडौं । नोभेम्बर २० अर्थात् अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा नेपाल सरकार र बालअधिकारका क्षेत्रमा क्रियाशील नागरिक सञ्जालले बालबालिकाको अधिकार संरक्षण, सुरक्षित भविष्य निर्माण र बालविवाह अन्त्यका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घीय महासभाबाट बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ऐतिहासिक दिनको स्मरणमा शुक्रबार विश्वभर यो दिवस मनाइएको छ ।
यस वर्ष ‘मेरो दिन, मेरो अधिकार, मेरो भविष्य’ भन्ने मूल नाराका साथ मनाइएको दिवसका अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बालबालिकालाई कल्याणका पात्रका रूपमा मात्र नभई स्वतन्त्र अधिकार भएका नागरिकका रूपमा सम्मान र व्यवहार गर्नुपर्ने बताइन् ।
बालबालिकाको अधिकार सुनिश्चित गर्नु राज्यको संवैधानिक दायित्व र समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री बादीले बालविवाह, बालश्रम, हिंसा, बेचबिखन, यौन शोषणका साथै पछिल्लो समय प्रविधिको विकाससँगै थपिएका साइबर बुलिङ, अनलाइन दुर्व्यवहार र व्यक्तिगत गोपनीयताको दुरुपयोगजस्ता नयाँ चुनौती सामना गर्न बाल संरक्षण प्रणाली सुदृढ बनाउनुपर्नेमा जोड दिइन् ।
मन्त्री बादीका अनुसार सरकारले ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । यस योजनाले विपद्बाट आमाबुबा गुमाएका तथा विशेष संरक्षण आवश्यक परेका बालबालिकालाई सम्भव भएसम्म आफ्नै जैविक परिवार वा परिवारमा आधारित स्याहारमा हुर्कने वातावरण सुनिश्चित गर्दै संस्थागत स्याहारलाई अन्तिम विकल्पका रूपमा मात्र लिने नीति अवलम्बन गरेको छ । साथै, विपद्पश्चात् विशेष संरक्षण आवश्यक पर्ने बालबालिकाको उद्धार, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग तथा पारिवारिक पुनर्मिलनका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको र प्रभावित क्षेत्रमा स्थलगत सहजीकरण टोलीसमेत परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले अन्तर्राष्ट्रिय बाल दिवस तथा संयुक्त राष्ट्रसङ्घले सन् २०२६ देखि प्रत्येक वर्ष नोभेम्बर २७ मा मनाउने गरी घोषणा गरेको ‘बालविवाह, कम उमेरमा हुने तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस’ को सन्दर्भ पारेर नेपाल सरकार र सरोकारवालासमक्ष ३९ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ ।
सिजपका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा जारी विज्ञप्तिमा विद्यमान संवैधानिक तथा कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्दै राष्ट्रिय बालअधिकार आयोग वा उच्चस्तरीय संयन्त्र निर्माण गर्न माग गरिएको छ ।
सिजपले विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम राखी ‘बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२’ र ‘बाल बजेट सङ्केत कार्यान्वयन कार्यविधि, २०८२’ को प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ । यस्तै, विद्यालय र बालबालिकालाई राजनीतिक गतिविधि तथा द्वन्द्वबाट मुक्त राख्दै शान्ति क्षेत्रका रूपमा स्थापित गर्न, दिवा खाजा कार्यक्रम कक्षा १० सम्म विस्तार गर्न, बाल पोषण भत्ता सबै बालबालिकामा पुर्याउन, विद्यालयमा बालमनोविज्ञ तथा नर्सको व्यवस्था गर्न र डिजिटल संसारलाई बालमैत्री एवं सुरक्षित बनाउन ध्यानाकर्षण गराइएको छ ।
यसका अतिरिक्त भूमिहीन सुकुम्बासी स्थानान्तरणका क्रममा प्रभावित बालबालिकाको शिक्षा र स्वास्थ्य सुरक्षासम्बन्धी सर्वोच्च अदालतको अन्तरिम आदेश कार्यान्वयन गर्न तथा २०५८ साउन २५ गते सर्वोच्च अदालतले बालबालिकाको सङ्गठित हुन पाउने अधिकारको पक्षमा फैसला गरेको दिनलाई ‘राष्ट्रिय बाल सहभागिता दिवस’ का रूपमा संस्थागत निर्णय गरी मनाउनसमेत सिजपले सरकारसँग माग गरेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्