Skip to content

‘महाधिवेशनले नयाँ ऊर्जा थपेको छ, अब जनताको भरोसा जित्नुपर्छ’ ः ललित श्रेष्ठ

nmb bank inside

‘महाधिवेशनले नयाँ ऊर्जा थपेको छ, अब जनताको भरोसा जित्नुपर्छ’ ः ललित श्रेष्ठ

खेमराज सापकोटा, नेपाल न्यूज बैंक

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्र नयाँ नेतृत्व, युवा सहभागिता, आन्तरिक एकता र आगामी निर्वाचनको तयारीबारे बहस सुरु भएको छ । महाधिवेशनले पार्टीमा ल्याएको ऊर्जा, कांग्रेसभित्र देखिएको दुईधार, सरकारको कार्यशैली तथा मोरङको सांगठनिक अवस्थाबारे नेपाली कांग्रेस मोरङका जिल्ला सचिव एवं आगामी जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी ललित श्रेष्ठसँग नेपाल न्यूजबैंकका संवाददाता खेमराज सापकोटाले गरेको कुराकानीको सम्पादित अंश ः

नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनपछि तल्लो तहमा कस्तो गतिविधि भइरहेको छ र यसले पार्टी तथा आम जनतामा कस्तो सन्देश दिएको छ ?

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सम्पन्न भएको आठ महिनाभित्र गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भएको छ । यसले पार्टीभित्र नयाँ ऊर्जा र उत्साह थपेको छ । महाधिवेशनमा समाजका विभिन्न तह र तप्काका प्रतिनिधिको सहभागिता रह्यो ।

जेनजी पुस्ता, पेसागत समूह, आदिवासी, जनजाति तथा दलित समुदायको प्रतिनिधित्वले पार्टीलाई थप समावेशी बनाएको छ । कार्यकर्तामा ‘अब कांग्रेस जाग्नुपर्छ, कांग्रेसले केही गर्छ र अघि बढ्छ’ भन्ने भावना देखिएको छ । महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिएको अनुभूति भएको छ । यही उत्साहका साथ आगामी स्थानीय तथा प्रदेश तहका निर्वाचनमा जनतामाझ जान कार्यकर्तालाई प्रेरणा मिलेको छ ।

१५औँ महाधिवेशनमा युवा प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिएको देखियो । पुराना नेताको योगदान र अनुभवलाई सम्मान गर्दै युवालाई नेतृत्वमा ल्याउने प्रयासलाई कसरी लिनुभएको छ ?

नेपाली कांग्रेसले यसपटक युवालाई बढी प्राथमिकता दिएको छ । लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेका, त्याग र समर्पण गरेका अग्रज नेताको योगदान र अनुभवलाई सम्मान गर्दै युवाको जोसलाई पनि अघि बढाइएको छ ।

महाधिवेशनमा युवा पुस्ताको राम्रो प्रतिनिधित्व भएको छ । यसले कांग्रेसभित्रका युवालाई मात्र होइन, पार्टीबाहिर रहेका युवालाई पनि सकारात्मक सन्देश दिएको छ । समाज र पार्टीमा योगदान गरेका अग्रजको अनुभव तथा सल्लाह लिँदै युवालाई नेतृत्वमा अघि बढाउने प्रयास राम्रो सुरुआत हो । यसले कांग्रेस युवालाई समेट्न र अग्रजलाई सम्मान गर्न तयार छ भन्ने सन्देश दिएको छ ।

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पनि युवाको असन्तुष्टिको अभिव्यक्ति थियो । पार्टीले पहिले नै युवालाई पर्याप्त स्थान दिएको भए त्यस्तो अवस्था आउँदैनथ्यो कि ?

जेनजी आन्दोलन हुनुका पछाडि धेरै कारण छन् । विगतमा शासनसत्तामा रहँदा हाम्रा नेताबाट पनि केही कमजोरी भएका हुन् । बाह्य शक्तिको चलखेल भएको भन्ने आवाज पनि उठिरहेको छ । देशमा छिटो परिवर्तन होस् भन्ने युवाको चाहना र त्यसअनुसार काम हुन नसक्नु, बेथिति बढ्नुजस्ता कारणले युवामा असन्तुष्टि र आक्रोश थियो । आन्दोलन त्यसैको अभिव्यक्ति हो भन्ने मलाई लाग्छ ।

कांग्रेसमा पहिले पनि युवाको प्रतिनिधित्व थियो, अहिले अझ विशेष रूपमा युवालाई समेटिएको छ । तर पार्टीमा युवालाई समेट्दैमा जेनजी आन्दोलन हुँदैनथ्यो भन्ने निष्कर्ष निकाल्न मिल्दैन । आन्दोलनका घटनालाई पनि गम्भीर रूपमा समीक्षा गर्नुपर्छ । आन्दोलनका क्रममा ऐतिहासिक धरोहर र सार्वजनिक सम्पत्ति ध्वस्त भए, आफ्नै नागरिकमाथि साङ्घातिक हमला भए । यस्ता गतिविधिले देशलाई फाइदा पु¥यायो कि पु¥याएन भन्ने विषयमा पनि पुनर्विचार गर्न आवश्यक छ ।

विशेष महाधिवेशनपछि कांग्रेसमा दुई धार देखिएको छ । १५औँ महाधिवेशन सम्पन्न भइसक्दा पनि पार्टीभित्र समानान्तर गतिविधि भइरहनुलाई कसरी हेर्नुभएको छ ?

विशेष महाधिवेशनको माग लामो समयदेखि उठिरहेको थियो। पार्टी विधानमा विशेष महाधिवेशनको माग भएपछि निश्चित समयभित्र बोलाउनुपर्ने व्यवस्था भए पनि तत्कालीन नेतृत्वले त्यसतर्फ पर्याप्त चासो नदिएपछि विशेष महाधिवेशन सम्पन्न भएको हो । त्यसपछि पार्टीभित्र दुई धार देखिएको छ । यो नेपाली कांग्रेसका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।

अहिले युवा पुस्ताको नेतृत्व आएको छ । मूल धारभन्दा बाहिर रहनुभएका अग्रज नेताहरू हाम्रा लागि आदरणीय हुनुहुन्छ । उहाँहरूले पार्टी स्थापना र लोकतन्त्र प्राप्तिका लागि ठूलो योगदान गर्नुभएको छ । उहाँहरूको योगदानलाई हामीले सम्मान गर्नुपर्छ ।

मलाई विश्वास छ, केही समयपछि उहाँहरूले पनि १५औँ महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गरेर पार्टीको मूल धारमा फर्कनुहुनेछ । वर्तमान सभापति गगन थापाले पनि असन्तुष्ट नेताहरूसँग संवाद गरी उहाँहरूलाई पार्टीमा समेट्ने प्रयास गर्नुभएको छ । स्थानीय तहको निर्वाचनअघि कांग्रेस एकढिक्का भएर अघि बढ्ने विश्वास लिएको छु ।

पार्टीभित्र समानान्तर गतिविधि भइरहँदा विधान र विधिअनुसार कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवाज पनि उठेको छ । यसबारे तपाईंको धारणा के छ ?

अहिले केन्द्रीय समितिले निर्वाचन कार्यालयमा पार्टीसम्बन्धी विवरण अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइरहेको छ । त्यसपछि आवश्यक कानुनी प्रक्रियामा जाने विषय पनि उठेको छ । एउटै चुनाव चिह्न र झण्डा भएको दुईवटा पार्टी हुनै सक्दैन । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भइसकेको अवस्थामा सोही चुनाव चिह्न र झण्डा प्रयोग गरेर अर्को अधिवेशन गर्न मिल्ने अवस्था हुँदैन । त्यसैले केन्द्रीय समितिले यस विषयमा उपयुक्त कानुनी बाटो अपनाउनेछ भन्ने मलाई लाग्छ ।

आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसको अवस्था कस्तो देख्नुहुन्छ ? विशेषगरी मोरङमा पार्टीको तयारी कस्तो छ ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडादेखि क्षेत्रीय तहसम्मका अधिवेशन सम्पन्न भएका छन् । जिल्ला र प्रदेश अधिवेशन हुन बाँकी छ । मोरङको सन्दर्भमा क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा कार्यकर्तामा निकै उत्साह देखिएको छ । गगन थापाको नेतृत्व र उहाँले अघि सार्नुभएको वैचारिक धार तथा राष्ट्रिय मुद्दामा लिएको अडानले कांग्रेसलाई राम्रोसँग अघि बढाउने विश्वास कार्यकर्तामा छ । अधिवेशनका क्रममा सबै तह, तप्का र समुदायलाई समेट्ने प्रयास भएको छ । यसले कार्यकर्तामा उत्साह थपेको छ ।

अहिले मोरङका नेता तथा कार्यकर्ता स्थानीय तहको निर्वाचनको तयारीमा जुटिसकेका छन् । संगठन विस्तार र परिचालनका काम भइरहेका छन् । अधिवेशनका क्रममा भएका सानातिना मनमुटाव र प्रतिस्पर्धाका असन्तुष्टि बिर्सेर सबै साथी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धतामा छन् । त्यसैले आगामी स्थानीय तहको निर्वाचनमा मोरङमा कांग्रेसले राम्रो परिणाम ल्याउने विश्वास छ ।

कार्यकर्तामा उत्साह देखिए पनि जनतामा त्यस्तो उत्साह सिर्जना हुन सकेको छैन । जनताको भरोसा जित्न कांग्रेसले अब के गर्नुपर्छ ?

पार्टीका कार्यकर्ता जनतासम्म पुग्ने पुल हुन् । कार्यकर्तामा आएको ऊर्जा जनतासम्म पु¥याउनुपर्छ । जनताको कुरा सुन्ने, उनीहरूका समस्या बुझ्ने र पार्टीका धारणा राख्ने काम कार्यकर्ताले गर्नुपर्छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्