Skip to content
nabil bank inside

गाउँपालिकाद्धारा लोकसेवाको नि:शुल्क तयारी कक्षा सञ्चालन

nmb bank inside

काठमाडौँ । हतुवागढी गाउँपालिकाले लोकसेवा तथा शिक्षासेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी स्थानीय स्तरमै नि:शुल्क तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो ।

लोकसेवा र शिक्षकसेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र धेरै शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउँदै स्थानीय स्तरमै नि:शुल्क तयारी कक्षा सुरु गरेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिएका छन् । युवाहरुमा सिकाइ उपलब्धि बढाउँदै, मेहनती, प्रतिस्पर्धी र इमान्दार नागरिकका रुपमा स्थापित गराउने लक्ष्य समेत लिइएको उनको भनाइ छ । ‘युवायुवतीमा प्लस टु सकेपछि नै विदेश जाने प्रवृति छ । त्यसलाई कम गर्न तथा सरकारी सेवामा आकर्षण बढाउने उद्देश्यले नि:शुल्क तयारी कक्षा सुरु गरिएको हो’, उनले भने ।

यस्तै, गाउँपालिकाले रु ५ लाख रकम विनियोजन गरेर सञ्चालन गरेको हो । हाल तयारी कक्षामा ४६ जनाको परीक्षार्थीको सहभागिता छ । गाउँघरमै लोकसेवा तयारी कक्षा सञ्चालन भएपछि त्यहाँका युवायुवती खुसी भएका छन् । गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गरेपछि यसैका लागि काठमाडौँ, विराटनगरलगायत ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य भएको तयारी कक्षामा सहभागी रामकुमारी राईले बताएका छन् । ‘गाउँपालिकाले सञ्चालन गरेको कक्षाले हामीलाई सहज भएको छ’, उनले भने, ‘गाउँपालिकामा नै कक्षा लिन पाउँदा खुसी लागेको छ । यही लोकसेवा तयारी कक्षा सञ्चालन गरिएकोले हामीले धेरै खर्च गरेर काठमाडौँ, विराटनगरलगायत ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले तयारी कक्षा एक महिनासम्म सञ्चालन गरिने बताएका छन् । ‘सरकारी सेवामा प्रवेश गर्न सहजता थप्न तयारी कक्षा सञ्चालन गरेका हौँ’, उनले भने, ‘कक्षा सञ्चालनले उनीहरुलाई निजामति तथा शिक्षा सेवाका क्षेत्रमा प्रवेश गर्न सहज हुन्छ भन्ने हाम्रो उद्देश्य हो ।’ गाउँपालिकाको सो योजनामा सीएससीआई एजुकेसन फाउन्डेसन दमकले सहजीकरण गरिरहेको छ ।

यसअघि विभिन्न गाउँपालिकामा पनि तयारी कक्षा सञ्चालन गरिरहेको फाउन्डेसनका प्रमुख राजु गौतमको भनाइ छ । एक महिनामा लोकसेवा तथा शिक्षासेवाका ६० वटा कक्षा सञ्चालन हुने प्रमुख गौतमले जनाएका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्