काठमाडौँ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालासँग नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको निकट सम्बन्ध रहेको खुलेको छ । शर्माले स्वयं पनि आफ्ना नजिकका साथीहरूसँग कोइरालासँगको घनिष्ठ मित्रताको कुरा बताउने गरेका छन् ।
तर, सार्वजनिक कम्पनी भएकाले बैंकबाट उनले पाउने प्रत्यक्ष फाइदा केही नभए पनि घुमाउरो तरिकाले काँग्रेस नेता शर्माले बैंकबाट लाभ लिनेगरी काम गरिएको आरोप लागेको छ ।
माछापुच्छ्रे बैंकले ‘कार्यक्रम प्रायोजन’ का नाममा अस्वाभाविक रकम उपलब्ध गराउने, सो रकम कार्यक्रम उत्पादन गर्ने कम्पनीको खातामा जम्मा हुने र त्यही रकम अस्वाभाविक रूपमा महँगो दरमा शर्माले लिनेगरी सम्झौता गरिएको आरोप लगाइएको छ । यसरी घुमाउरो पाराले शर्माले बैंकबाट ‘चन्दा’ लिएको भन्दै नयाँ किसिमको चलन सुरु भएको बताइन्छ ।
बजार प्रवर्द्धनमा कार्यरत एक कर्मचारीका अनुसार, विश्वप्रकाश शर्माले सञ्चालन गर्ने भनिएको एक टेलिभिजन कार्यक्रममा बैंकले सुरुवाती चरणमै करिब ३० लाख रुपैयाँ खर्च गरेको थियो । सो कार्यक्रमको दोस्रो संस्करणका लागि पनि बैंक त्यही रकम दिन तयार थियो, तर समयमा कार्यक्रम नबनेपछि रकम केही घटाइएको थियो ।
‘बैंकले कुनै कार्यक्रम प्रायोजन गर्नु गलत होइन,’ ती कर्मचारीले भनिन्, ‘तर १२ एपिसोडका लागि रकम अस्वाभाविक थियो । खासै टिआरपी नभएको कार्यक्रममा काँग्रेस नेताले सञ्चालन गर्ने भनेर मात्रै बढी पैसा खर्च गर्नु उचित थिएन । सीईओले “साथी हो” भनेर गरिदिनुभएको हो भन्ने थाहा पाएका थियौँ । अहिले त कुनै टिभी वा अनलाइन मिडियालाई बिजनेस दिन बलियो पहुँच चाहिँदैन — नेताको फोन भए पुग्छ ।’
उता बैंकका सूचना अधिकारी सुनिल खतिवडाले भने काँग्रेस नेताले सञ्चालन गर्ने कार्यक्रममा बैंकले प्रायोजन गरेको स्वीकार गर्दै पनि, त्यसरी ‘काँग्रेस नेताले चलाउने भएकाले मात्र पैसा दिएको’ वा ‘व्यापार प्रवर्द्धन नभई चन्दा दिएको’ भन्ने आरोप असत्य भएको दाबी गरे ।
‘हामीले टेलिभिजन कार्यक्रमलाई प्रायोजन गरेका हौँ,’ उनले भने, ‘अरु हिसाबकिताबबारे हामीलाई जानकारी हुने कुरै होइन ।’
तर, सो घटनापछि काँग्रेस निकट मिडिया सञ्चालकहरूले बैंकसँग बिजनेसका लागि भेटघाट बढाएको स्वयम् बैंकको ब्रान्डिङ विभागमा कार्यरत कर्मचारीहरूले बताएका छन् । यता सेयरधनीहरुले पनि आफ्नो भाग खोसेर पार्टी विशेषका नेतालाई घुमाउरो पारामा चन्दा दिएको भन्दै सामाजिक संजालमा आक्रोश पोखिरहेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्