काठमाडौं । सुनिता शर्मा ढकाल, माछापुच्छ्रे बैंकमा ब्राण्डिङ विभागमा काम गर्छिन् । पद, र विभागको नाम जे भए पनि उनको काम भने मिडिया व्यवस्थापन हो । तर, मिडिया संगतको फाइदा उठाएर उनले निश्चित व्यक्तिहरुसँग साँधिरहेको प्रतोशोधका कारण अहिले बैंककै ब्राण्ड विवादमा छ । उनी गल्ती गरिरहने, सीइओले माफी दिईरहने प्रवृतिले एक मामुली कर्मचारी जोगाउन सिंगो बैंकको ब्राण्डलाई नै दाउ लगाएको आभाष बैंकभित्रै हुँदा पनि पटक पटक उनै शर्मालाई जोगाउने काम भईरहेको छ ।
आरोप पुष्टी हुँदा पनि भएन कारवाही
केहि मिडिया संचालकहरुले शर्माले नियोजित रुपमै एउटा मिडियालाई पठाउनुपर्ने इमेल अर्को मिडियालाई पठाएको आरोप लगाएका थिए । फलानो मिडियाको विज्ञापनको रेट तपाईंहरुको भन्दा थोरै छ भनेर फकाउन उनले कानुन नै मिचेर यस्तो काम गरेको भेटिएको थियो । त्यो पनि, एक पटक होइन, ३-३ पटक । उनी स्वयंले आफ्नो गल्ती भएको स्वीकारेकी थिइन् । तर उनलाई कारवाही गर्नुको साटो बैंकका हाकिम नै बरु इमेल पठाएको ‘लग’ मेटाउनतिर लागे ।
यति मात्र होइन, सीइओले फाइनल गरेको रेट घटाएर पठाएको, आफुलाई भेट्न आउने मिडियाका प्रतिनिधिहरुलाई ‘गोप्य’ रहनुपर्ने अरु केहि निश्चित मिडियाको रेट देखाएको, उनीहरुलाई पठाएको इमेल देखाएको लगायतका आरोप पनि उनलाई लागेको थियो । यतिमात्र होइन, आफ्नो बैंकविरुद्ध समाचार लेखेको भन्दै उनले केहि मिडियाकर्मीलाई पागलसमेत भनेकी थिइन् । तर उनले आफुले रेट घटाएर पठाएको लगायतका काम स्वीकार्दै आफुबाट गल्ती भएको स्वीकारे पनि उनलाई बैंकले कारवाही गरेन ।
माछापुच्छ्रे बैंक : सेयरधनीको भाग खोसेर घुमाउरो पारामा काँग्रेस नेतालाई ‘चन्दा’ ! के भन्छ बैंक ?
के भन्छिन् शर्मा ?
स्वयम् शर्मा पनि आफुले झुक्किएर एउटा मिडियालाई पठाउने इमेल अर्को मिडियालाई पठाएको स्वीकार गर्छिन् । यद्यपी उनले आफुले केहि पटक यस्तो गरेको तर त्यसमा बदनियत नभएको दाबी गरेकी छिन् । हरेक पटकको यस्तो कामलाई उनले इरर भनेकी छिन् । तर, गल्ती भएको स्वीकार्ने पनि गर्ने तर हतारहतार इमेलको लग नै हटाउन खोज्नुले उनको नियतमाथि प्रश्न उठाईरह्यो । अझ खास कुरा त के छ भने, उनले जिस्काईरहने र प्रतिशोध साँधिएकोजस्तो देखिने मिडिया केहि निश्चित नै छन् । गल्ती हुँदा त जुनमा पनि हुनुपर्ने हो, तर त्यस्तो देखिन्न भन्नेहरु बैंकभित्रै छन् ।
हाकिम र जुनियर दुवै सरुवा, उनलाई मात्र किन ‘विशेष सुविधा’ ?
बैंकले उनले रिपोर्टिङ्ग गर्ने उनकी हाकिमलाई चितवन सरुवा गरेको छ । केहि समय अघि मात्र उनकी असिष्टेन्टलाई पनि अन्त्यत्रै सरुवा गरिएको थियो । तर उनलाई भने बिगत लामो समय देखि उही विभागमा उही जिम्मेवारी दिईएको छ । काठमाडौँमा मात्र जागिर खान पाउने अचम्मको सुविधा उनलाई मिलेको छ । तर, यस विषयमा प्रश्न उठाउँदा हाकिमहरु उनी नभए मिडिया हेर्ने कोहि नै छैनन्, अरुले सक्दैनन् भन्ने जवाफ दिने गरेका छन् । तर उनले मिडिया व्यवस्थापनका नाममा बैंकको रकम प्रयोग गरेर आफ्नो प्रतिशोध साँध्ने काम गरिरहेको आरोप उनीमाथि छ । घटनाक्रमले पनि ती आरोपहरुलाई पुष्टी गर्छ ।
माछापुच्छ्रे बैंकबाट जनताको लाखौँ रुपैयाँ ‘गायब’ भएको प्रकरण कहाँ पुग्यो ? खतिवडाले बोले सफेद झुट !
के भन्छ बैंक ?
बैंकका सूचना अधिकारी सुनिल खतिवडा शर्माका विषयमा चौतर्फी गुनासो आएपछि उनको जिम्मेवारीमा आफु आएको बताए । विभागको प्रमुख बनेकी उनको ठाउँमा बैंकले खतिवडालाई प्रमुख बनाएको छ । तर आफुलाई घटुवा गरेको भन्दै उनले हाकिम समक्ष रुवाबासी गरेपछि उनलाई पुन: सोहि काम र पद दिने तयारी बैंकको छ । अर्थात, यसपटक पनि बैंक चेतेको देखिएन । यी सबै कुरा बाहिरिसकेको अवस्थामा नैतिक रुपमा पनि शर्माले बैंक छाड्नुपर्ने थियो, तर उनी त्यस्तो कुनै तयारीमा छैनन् ।
यसअघि ग्लोबल आईएमई बैंकमा काम गरेकी उनीविरुद्ध त्यहाँ पनि यस्तै आरोपहरु थिए । त्यसपछि तत्कालीन सीइओले उनलाई ‘अन्तै जागिर खोज्नु’ भनेपछि उनी माछापुच्छ्रे बैंक आएकी थिइन् । जति गल्ती गर्दा पनि कारवाही नहुने भएपछि उनी माछापुच्छ्रे बैंकको जागिर छाड्न तयार भएकी छैनन् । शर्माले जागिर छाड्न नमानेपछि खतिवडालाई मिडिया हेर्ने जिम्मेवारी दिईएको थियो । तर उनले रुवाबासी गरेर पुन: आफ्नो हातमा सो पद ल्याईछाडेको भन्दै अहिले एक मामुली कर्मचारीका लागि पुरै बैंकले बैंकको ब्राण्ड नै दाउमा राखेको भन्दै चौतर्फी आलोचना भईरहेको छ ।
उनले बैंक भित्र घटाएका दुई चर्चित काण्डका विषयमा विशेष सामाग्रीसहित उननीसँग गरिएको कुराकानी आगामी अंकहरुमा प्रस्तुत गर्नेछौँ । -सम्पादक