काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५ गतेदेखि सञ्चालन हुने जनाएको छ । महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको जनाएको हो।
सूचनाअनुसार नयाँ शैक्षिक सत्रको प्रारम्भ, शिक्षक, कर्मचारी तथा विद्यार्थीमा परेको प्रभाव, विद्यालय व्यवस्थापन समितिको तयारी तथा समग्र शैक्षिक अवस्थाको विश्लेषणपछि सरोकारवालामा उत्पन्न द्विविधा हटाउन आवश्यक देखिएकाले यो निर्णय गरिएको हो।
महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिको वैशाख १० गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८३ का पठनपाठनसहित सम्पूर्ण शैक्षिक क्रियाकलाप वैशाख १५ गतेदेखि नियमित रूपमा सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइएको छ।
शिक्षा विभागले महानगरभित्रका सबै विद्यालय, विद्यालय निरीक्षक, स्रोत शिक्षक तथा सम्बन्धित सरोकारवालालाई सूचना कार्यान्वयन गर्न आग्रह गरेको छ। साथै सूचना प्रविधि विभागलाई उक्त सूचना महानगरपालिकाको वेबसाइटमा अपलोड गर्न पनि निर्देशन दिइएको छ।
विभागीय प्रमुख नमराज ढकालद्वारा जारी सूचनामा विद्यालय सञ्चालनमा आवश्यक समन्वय, सहजीकरण तथा सूचना प्रवाह प्रभावकारी बनाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
महानगरपालिकाले अभिभावक, विद्यार्थी तथा शिक्षकहरूलाई निर्धारित मितिदेखि विद्यालय सञ्चालनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्