Skip to content

एकपछि अर्को बैंक, एकपछि अर्को विवाद ! रमेश राज अर्याल जहाँ पुग्छन्, त्यहाँ किन उठ्छन् प्रश्न ?

nmb bank inside

काठमाडौँ । नेपालको बैंकिङ क्षेत्रका विवादित पात्रहरूको चर्चा गर्दा एउटा नाम बारम्बार दोहोरिन्छ– रमेश राज अर्याल। कहिले प्रमुख कार्यकारी अधिकृत, कहिले सञ्चालक। तर उनी जहाँ पुगे, त्यहाँ विवाद पनि सँगै पुगेको देखिन्छ ।

एनसीसी बैंकको नेतृत्व सम्हाले। बैंकको अवस्था कमजोर बन्दै गएपछि अन्ततः कुमारी बैंकसँग गाभियो। त्यसपछि उनी कुमारी बैंकको सीईओ बने । तर त्यहाँ पनि कार्यकाल पूरा गर्न सकेनन् । राजीनामा दिए । तर विवाद त्यहीँ सकिएन।

राजीनामापछि पनि उनले करोडौँ रुपैयाँ गैरकानुनी रूपमा तलब तथा सुविधा बुझेको पुष्टि भएपछि नेपाल राष्ट्र बैंकले रकम फिर्ता गर्न निर्देशन दियो । बैंकिङ इतिहासमै नियामकबाट यस्तो निर्देशन पाउने सीईओको सूचीमा उनको नाम पनि जोडियो ।

त्यसपछि उनी सिटिजन्स बैंकको सञ्चालक बन्न पुगे। तर त्यहाँ पनि कानुनी प्रश्न उठ्यो । राष्ट्र बैंकले स्पष्ट भन्यो– कुलिङ पिरियड पूरा नगरी पूर्व सीईओ सञ्चालक बन्न मिल्दैन। नियामकको आपत्तिपछि उनले सिटिजन्स बैंकको सञ्चालक पद छाड्नुपर्‍यो ।

तर फेरि उनी रोकिएनन् । यसपटक उनको गन्तव्य बन्यो- प्रभु बैंक। र अहिले उनी प्रभु बैंकको सञ्चालक छन्।

तर प्रभु बैंक आफैँ विवादको केन्द्रमा छ। पूर्व सीईओविरुद्ध अदालतले जेल पठाउने आदेश दिएको छ। पूर्व डेपुटी सीईओसहित अन्य उच्च अधिकारीहरू पनि अदालतको आदेशपछि फरार छन् । तत्कालीन चिफ बिजनेस अफिसर प्रहरी हिरासतमा छिन् । राष्ट्र बैंकले बैंकमाथि कारबाही गरिसकेको छ । नियामकले बैंकले गलत विवरण बुझाएको तथ्यसमेत औँल्याइसकेको छ।

यति धेरै विवादका बीच पनि सञ्चालकको भूमिकामा रहेका रमेश राज अर्यालमाथि अर्को प्रश्न उठेको छ। सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकमा गाभिएपछि कर्मचारीहरूको सरुवा प्रक्रियामा उनले छानीछानी प्रतिशोध लिएको आरोप लागेको छ । कसैलाई प्राथमिकता, कसैलाई बेवास्ता गरिएको भन्दै त्यसबेलै बैंकभित्र असन्तुष्टि चुलिएको थियो।

यसरी हेर्दा एनसीसीदेखि कुमारी, कुमारीदेखि सिटिजन्स र सिटिजन्सदेखि प्रभुसम्म आइपुग्दा रमेश राज अर्यालको यात्रा उपलब्धिभन्दा विवादले बढी चिनिएको देखिन्छ।

यहि कारण पनि बारम्बार नियामकीय प्रश्न उठ्ने, गैरकानुनी तलब फिर्ता गर्नुपर्ने, कुलिङ पिरियड उल्लंघनको आरोप खेप्ने व्यक्ति फेरि अर्को बैंकको सञ्चालक कसरी बन्छ ? भन्ने प्रश्न उठेको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्