कांग्रेस महाधिवेशन : हलमा कुर्सी खाली, खुल्लामन्चमा चुनावी चटारो
मनिषा बस्नेत, नेपाल न्यूज बैंक
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन बन्दसत्रभर महाधिवेशन स्थलमा अनौठो दृश्य देखियो ।
एकातिर मञ्चबाट शीर्ष नेताहरू नीति तथा प्रतिवेदन प्रस्तुत गरिरहेका थिए भने अर्कातिर प्रतिनिधिहरू बन्दसत्र कक्ष छाडेर बाहिर चुनावी प्रचारप्रसारमा मग्न भेटिए ।
मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ । यसैकारण बन्दसत्रभित्र नीतिगत छलफलमा जुट्नुपर्ने महाधिवेशन प्रतिनिधिहरू महाधिवेशन परिसरको खुला चौरमा आफ्ना पक्षका उम्मेदवारका प्रचार सामग्री तथा परिचयपत्र बाँड्न व्यस्त देखिए ।
प्रतिनिधिहरूको सहजताका लागि बन्दसत्रलाई पहाड, हिमाल र तराई–मधेस गरी तीनवटा क्लस्टर हलमा विभाजन गरिएको छ । प्रदेश तथा विभिन्न समूहअनुसार प्रतिनिधिहरूलाई यी हलहरूमा बाँडिएको थियो ।
बन्दसत्रमा सोमबार पार्टी सभापति गगन थापाको राजनीतिक प्रतिवेदनसहित चारवटा मुख्य प्रतिवेदनहरू पेस गरिए । उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले साङ्गठनिक तथा संशोधित विधान प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभापति थापाले राजनीतिक प्रतिवेदन वाचन गर्दा प्रतिनिधिहरूले निकै चासोपूर्वक सुनेका थिए । दिउँसो बर्षा भएपछि उपसभापति शर्माले तराई–मधेस हलमा प्रतिवेदन पेस गर्दा पनि प्रतिनिधिहरूको उपस्थिति बाक्लो नै थियो। तर, महामन्त्री पौडेलले संशोधित विधान र साङ्गठनिक प्रतिवेदन पेस गर्न थाल्दा हल प्रायः रित्तिसकेको थियो ।
विधान र दस्ताबेजका सैद्धान्तिक बुँदाभन्दा प्रतिनिधिहरूको ध्यान आगामी नेतृत्वको समीकरणतर्फ बढी खिचिएको देखिन्थ्यो ।
प्रतिवेदन प्रस्तुत भइरहँदा बाहिर चौरमा समूह–समूह बनाएर मत माग्ने, पर्चा बाँड्नेहरूको भीड बाक्लिँदै गएको देखिन्छ ।
नीति निर्माणको मुख्य थलो बन्नुपर्ने बन्दसत्रमा नेताहरूको भाषण चलिरहँदा हल भने लगभग सुनसान देखियो ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्