Skip to content

‘सञ्चारमाध्यमलाई टिकाइराख्न न्यूज एजेन्सीहरुको भूमिका महत्त्वपूर्ण’

nmb bank inside

समाचार एजेन्सीको प्रभावकारिता बढाउन गुणस्तरीय सामग्री र अग्रिम सूचना आवश्यक

काठमाडौं । नेपालमा न्यूज एजेन्सीहरुको भूमिका र महत्व बढ्दै गएको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । शनिवार नेपाल न्यूज बैंक समाचार एजेन्सीले काठमाडौंमा आयोजना गरेको ‘समाचार संवाद’ कार्यक्रममा संचार सम्बद्ध व्यक्तिहरुले न्यूज एजेन्सीको सान्दर्भिकता बढ्दै गएको औंल्याएका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले आर्थिक तथा अन्य विभिन्न चुनौतीका कारण सञ्चारमाध्यमलाई टिकाइराख्न कठिन हुँदै गइरहेको अवस्थामा समाचार एजेन्सीहरुको महत्व बढेको बताए ।

उनले यस्तो अवस्थामा नेपाल न्यूज बैंकजस्ता समाचार एजेन्सीको माग बढ्दै गएको बताए । पोखरेलले सञ्चारमाध्यममा जनशक्तिको अभाव बढ्दै गएको र सबै विषयमा समाचार संकलन तथा प्रकाशन गर्न कठिन भइरहेको बताए ।

उनले समाचार एजेन्सीले सञ्चारमाध्यमलाई आकर्षित गर्न सामान्य सूचना मात्र नभई विशिष्ट र गुणस्तरीय सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

नागरिक पत्रकारिताको विकास भइरहेको अवस्थामा सामान्य सूचना मात्रै दिएर एजेन्सीको सामग्री खरिद गर्न सञ्चारमाध्यमलाई आकर्षित गर्न कठिन हुने उनको भनाइ थियो । 

उनले भने, ‘अहिले नेपालका मिडियालाई आर्थिक तथा विभिन्न चुनौतीहरु देखिएका छन् । टिकाइराख्न कठिन भइरहेको छ । यस्तो अवस्थामा नेपाल न्यूज बैंकजस्ता समाचार एजेन्सीको माग बढ्दै गएको छ । तर नागरिक पत्रकारिता स्थापित भइरहेको बेला सामान्य सूचना मात्रै दिएर एजेन्सीको सामग्री बिक्री गर्न कठिन हुन्छ । त्यसैले सञ्चारमाध्यमलाई आकर्षित गर्न समाचार एजेन्सीहरूले विशिष्ट, गुणस्तरीय र प्रतिस्पर्धात्मक सामग्री उपलब्ध गराउनुपर्छ ।’

उनले सबै सञ्चारमाध्यम समाचार एजेन्सीमै निर्भर हुनुपर्ने धारणा भने उचित नभएको बताए । जनशक्तिको अभाव भएका सञ्चारमाध्यमलाई विभिन्न क्षेत्र र विषय समेटिएका सामग्री उपलब्ध गराउनु एजेन्सीको महत्त्वपूर्ण भूमिका भए पनि सञ्चारमाध्यमले एजेन्सीबाटै ब्रेकिङ न्युजको अपेक्षा गर्नु उचित नहुने उनको भनाइ थियो ।

उनले भने, ‘सबै सञ्चारमाध्यमले न्यूज एजेन्सीकै भर पर्नुपर्छ भन्ने कुरामा मलाई चित्त बुझ्दैन । जनशक्तिको अभाव हुँदा विभिन्न क्षेत्र र विषयका समाचार सामग्री उपलब्ध गराउनु एजेन्सीको भूमिका हो । तर सञ्चारमाध्यमले एजेन्सीकै भर परेर ब्रेकिङ न्युज किन आएन भनेर प्रश्न उठाउनु त्यति जायज हुँदैन ।’

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले समाचार एजेन्सीका सेवाग्राहीले ब्रेकिङ न्यूजसँगै विकासोन्मुख समाचारबारे अग्रिम जानकारीसमेत अपेक्षा गर्ने बताए ।

कुनै समाचारको विषयमा के भइरहेको छ र त्यसले कस्तो रूप लिन सक्छ भन्नेबारे एजेन्सीले समयमै जानकारी गराउनसके सञ्चारमाध्यमका समाचार कक्षलाई योजना बनाउन र समाचारको तयारी गर्न सहज हुने उनको भनाई थियो ।

उनले भने, ‘न्यूज एजेन्सीका सेवाग्राहीले ब्रेकिङ न्यूजको इन्फर्मेसनसँगै कुन समाचार डेभलप हुँदैछ भन्ने अग्रिम जानकारी पनि खोजिरहेका हुन्छन् । एजेन्सीले समाचार तयार भइरहेको विषयमा समयमै जानकारी गराउन सक्यो भने समाचार कक्षले पनि त्यसलाई एडप्ट गरेर समाचारको तयारी गर्न सक्छ ।’

सापकोटाले कतिपय अवस्थामा समाचार संकलन गर्नुपर्ने बाध्यता भए पनि विषयमा नयाँ तथ्य वा समाचारको कोण फेला पार्न कठिन हुने बताए । यस्तो अवस्थामा समाचार एजेन्सीले उपलब्ध गराउने सूचना र सामग्रीले सञ्चारमाध्यमलाई सहयोग पुग्ने उनको भनाइ थियो ।

त्यस्तै, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले नेपाल न्यूज बैंकले अन्तर्राष्ट्रिय स्तरको समाचार एजेन्सीका रूपमा विकास हुने लक्ष्य राख्नु सकारात्मक भएको बताए ।

उनले अन्तर्राष्ट्रिय समाचार एजेन्सी पीटीआई र रोयटर्सजस्तै स्तरमा पुग्ने परिकल्पनासहित अघि बढ्नु महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपाल न्यूज बैंकलाई अन्तर्राष्ट्रिय स्तरको समाचार एजेन्सीका रूपमा विकास गर्ने परिकल्पना सकारात्मक लागेको छ । पीटीआई वा रोयटर्सजस्तै अन्तर्राष्ट्रिय स्तरमा पुग्ने सोचका साथ अघि बढ्नु महत्त्वपूर्ण कुरा हो ।’

दाहालले नेपाल न्यूज बैंकको विकास र विस्तारसँगै त्यसले कुन विषयलाई प्राथमिकतामा राख्ने तथा सञ्चारमाध्यम र दर्शक–पाठकलाई कसरी आकर्षित गर्ने भन्ने विषय महत्त्वपूर्ण रहेको बताए ।

उनका अनुसार अहिले समाचार एजेन्सीदेखि अन्य सञ्चारमाध्यमसम्म सबैले आफ्ना सामग्रीमार्फत पाठक, दर्शक र सेवाग्राहीलाई आकर्षित गर्ने चुनौती सामना गरिरहेका छन् । सबै पक्षको आवश्यकता सम्बोधन गर्दै अघि बढ्नु समाचार एजेन्सीका लागि सहज नभएको उनले बताए ।

नेपाल न्यूज बैंक प्रालिकी अध्यक्ष कमल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सम्पादन सल्लाहकार धर्मेद्र झा र सम्पादक युवराज गौतमले सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न संचारमाध्यमका संचालक, सम्पादक एवम प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखे । 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्