रामेछाप । दिनभरि विद्यालयको कक्षाकोठामा विद्यार्थीलाई पढाउने जिम्मेवारी । बिहान र साँझपख आफ्नै बारीमा पसिना बगाउने दैनिकी । पेशाले शिक्षक भएपनि दिलबहादुर अछामीको परिचय अहिले कक्षाकोठाभन्दा बाहिरसम्म फैलिएको छ-एक सफल र अब्बल कृषकका रूपमा ।
मन्थली नगरपालिका–७, भटौलीको आसिखेत स्थित खरहेको छेउमा रहेकाउ उनको पाखोबारी केही वर्षअघिसम्म सामान्य खोरियाभन्दा फरक थिएन । खहरेको बगरछेउमा रहेको जमिनको खासै उपयोग थिएन । त्यतिकै काल्ना र बुट्यान थिए । तर, तीन वर्षअघि अछामीले त्यही जमिनको स्वरूप बदल्ने अठोट गरे ।
बाँझो जमिनमा उनले सम्भावना देखे। अरूका लागि सामान्य खोरिया देखिने त्यही जमिनमा उनले पसिना पाख्ने र नयाँ केही गरेर देखाउने सपना देखे । अहिले त्यही सपना उनको आम्दानी र पहिचान दुवै बन्न थालेको छ ।
रुद्राक्षेश्वर माध्यमिक विद्यालय, मुगिटारमा अध्यापनरत अछामीले कृषि क्षेत्रमा औपचारिक तालिम भने लिएका छैनन् । तर, अनुभव र आफ्नै खोजबाट उनले ड्रागन, आँप, भुईँकटहर, कागती खेतीदेखि मौरीपालनसम्म राम्रो नतिजा निकालिरहेका छन् ।
तीन वर्षअघि उनले खोरिया बारीका दुई पाटामा ड्रागन खेती सुरु गरे। सिमेन्टका पोल बनाएर उनले आफ्नै तरिकाले खेती सुरु गरेका थिए । जसनमा उनको ५ लाख रुपैँया खर्च लागेको थियो । तर दुई वर्षमा नै उनको सबै खर्च उठेको छ । अबको कमाई नाफै नाफा ।
‘गत साल तीन लाख जतिको ड्रयागन बेचियो, यस वर्ष साँढे तीनलाख जतिको बेचियो, अब डेढलाख जतिको होला,’ उनले भने ।
झण्डै एक रोपनी क्षेत्रफलमा लगाइएको ड्रागनका बोट अहिले हराभरा छन् । लहरिएका हाँगामा फलहरू झुण्डिएका देखिन्छन्। बारीमा पस्दा उनको मेहनतको परिणाम आँखैअघि देखिन्छ ।
उत्पादन राम्रो हुनुको कारण उनी मल, पानी र गोडमेलमा दिएको ध्यानलाई मान्छन् । नियमित स्याहारकै कारण यस वर्ष ड्रागनमा फल पनि राम्रो फलेको छ । उनी अझै खेति विस्तारको योजनामा छन् ।
अछामीको सफलताको अर्को महत्वपूर्ण आधार हो —परिवारको साथ । उनी दिउँसो विद्यालय पुगेर विद्यार्थीलाई पढाउँदा उनकी श्रीमती बारीको जिम्मेवारी सम्हाल्छिन्। गोडमेलदेखि मलपानीसम्मका काममा उनी सक्रिय हुन्छिन् ।
विद्यालयबाट फर्किएपछि अछामी पनि बारीमै व्यस्त हुन्छन् । छोराछोरीले समेत पढाइबाट बचेको समय खेतीको स्याहारमा लगाउन थालेका छन् ।
यसरी अछामीको बारी एउटा व्यक्तिको मात्र मेहनतको परिणाम नभई परिवारकै साझा श्रम र सपनाको प्रतिफल बन्दै गएको छ ।
अछामीको कृषि यात्रा ड्रागनमा मात्रै सीमित छैन । उनको बगैंचामा कागती, विभिन्न जातका आँप, अनार, भुईँकटहर, अम्बालगायतका फलफूल छन्। ड्रागनको भित्री बालीका रूपमा उनले भुईँकटहरसमेत लगाएका छन् । बारीमा उत्पादन भएको भुईँकटहर रसिलो र स्वादिलो रहेको उनी बताउँछन् ।
महँगा तथा विदेशी जातका आँपका बिरुवा पनि उनले हुर्काइरहेका छन् । आँपका केही बोटले फल दिन लागेका छन् । केही वर्षपछि ती बिरुवाले राम्रो उत्पादन दिने र त्यसबाट थप आम्दानी गर्ने उनको योजना छ ।
अछामीका लागि खेती अब केवल अतिरिक्त आम्दानीको माध्यम मात्र होइन, सम्भावनाको नयाँ संसार बनेको छ ।
उत्पादन बढ्दै गएपछि किसानका लागि सबैभन्दा ठूलो चुनौती बजारको हुन्छ । तर अछामीको हकमा भने अवस्था केही सहज छ ।
मन्थलीका उपभोक्ताहरूले उनको उत्पादन खोजेरै लैजान्छन् । गुणस्तरीय उत्पादन भएकाले उनको ड्रागन प्रतिकेजी करिब तीनसय रुपैयाँमा बिक्री भइरहेको छ ।
मन्थली मात्र होइन उनको बारीको उत्पादन काठमाडौंसम्म पुग्न लागेको छ । बजारको माग र उत्पादनको सम्भावना देखेर अछामी अब खेतीलाई अझ विस्तार गर्ने योजनामा छन् ।
कृषि सम्बन्धी औपचारिक तालिम नलिएका अछामीले आफूले सिकेको ज्ञान प्रयोग गर्दै खेतीमा सफलता हात पारिरहेका छन् । उनको अनुभवले एउटा कुरा देखाएको छ–कृषिमा सफल हुन तालिम मात्र होइन, निरन्तर सिक्ने इच्छा, मेहनत, धैर्य र प्रयोग गर्ने आँट पनि आवश्यक हुन्छ ।
उनले खोरियालाई उत्पादनशील जमिनमा बदले । सामान्य बारीलाई फलफूलको बगैंचामा रूपान्तरण गरे । पाँच लाख रुपैयाँको लगानीबाट सुरु भएको ड्रागन खेतीले अहिले लगानी फिर्ता गरेर नाफा दिन सुरु गरिसकेको छ । विद्यालयमा शिक्षकको जिम्मेवारी पूरा गर्दै कृषि कर्ममा पनि उत्तिकै समर्पित अछामीले आफ्नो पहिचान आफैं बदलिरहेका छन् ।
कहिल्यै महत्व नदिइएको खहरे छेउको खोरिया अहिले उनको सपना फलाउने ठाउँ बनेको छ । त्यहाँ झुण्डिएका ड्रागन र आँपका फलले केवल आम्दानीको कथा सुनाउँदैनन् । मेहनत गरे उजाड जमिनमा पनि सम्भावनाको बाली फलाउन सकिन्छ भन्ने प्रेरणा पनि दिन्छन् ।








Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्