Skip to content

दुबईमा एनसेलका मालिक र बैंकका सिइओको गोप्य मिटिङ, त्यसपछि स्मार्ट सेल लिलामी ! (ह्वाट्सएप च्याटसहित)

nmb bank inside

काठमाडौँ । सरकारी स्वामित्वमा आइसकेको सम्पत्ति लिलामी गर्ने तयारीसँग सम्बन्धित प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे दुबई पुगेर एनसेलका मालिक सतिश लाल आचार्यसँग भेटवार्ता गरेको खुलेको छ।

अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको ह्वाट्सएप च्याटअनुसार पाण्डेले आचार्यलाई ‘हामीले योजना बनाए अनुसार नै यसलाई टुंग्याऔँ’ भन्ने सन्देश पठाएको उल्लेख छ। सो संवाद लिलामी प्रक्रियासँग सम्बन्धित विषयमा भएको प्रहरी अनुसन्धानको निष्कर्षमा उल्लेख गरिएको  छ।

अनुसन्धानमा पाण्डेले नियमित रूपमा प्रयोग गर्ने मोबाइलभन्दा फरक अर्को मोबाइलमार्फत आचार्यसँग ह्वाट्सएपमा सम्पर्क राख्ने गरेको समेत खुलेको प्रहरीले जनाएको छ। उक्त मोबाइल प्रहरीले नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक परीक्षणसमेत गरेको बताइएको छ।

प्रहरीले पाण्डेको विदेश भ्रमण विवरण (ट्राभल हिस्ट्री) समेत विश्लेषण गर्दा यही प्रकरणका विषयमा छलफल गर्न उनी दुबई पुगेर आचार्यसँग भेटेको र लिलामीसम्बन्धी विषयमा कुराकानी भएको प्रमाण फेला परेको अनुसन्धानको दाबी छ।

यद्यपि, अनुसन्धानका क्रममा दिएको बयानमा पाण्डेले आफूले कुनै बदनियत वा गैरकानुनी उद्देश्य राखेर काम नगरेको जिकिर गरेका छन्। प्रहरीले भने संकलित डिजिटल प्रमाण, यात्रा विवरण र अन्य तथ्यका आधारमा घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्