मलाई नेपाली भनिदिऊन् भनेर काठमाडौंमा नेपाली गीत बजाउँदै हिँड्थेँ : डा. रामजी राम
काठमाडौं । चमार समुदायबाट एमबीबीएस पूरा गर्ने पहिलो डाक्टर रामजी रामले काठमाडौंमा मधेसी र दलित समुदायले भोग्नुपरेको पहिचान, अपनत्व र विभेदको तीतो यथार्थ स्मरण गरेका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ पुस्तक ‘मगनी मरिक’ विमोचन कार्यक्रममा बोल्दै डा. रामले राजधानीमा घुलमिल हुनका लागि आफूले विगतमा गरेको संघर्ष र भोगेको अनुभूति सुनाएका हुन् ।
सुरुवाती दिनमा काठमाडौं आउँदा भाषा र लवज नमिल्दा संवादमै सम्मान नझल्किने गरेको अनुभव सुनाउँदै डा. रामले भने, ‘सबैभन्दा कठिन कहाँ भने भाषा नबुझ्ने, अनि संवादमा पनि त्यो सम्मान नझल्किने कुराहरू हुन सक्छन् । ‘तपाईं’भन्दा ‘तिमी’ वा ‘तँ’ भन्ने शब्द प्रयोग भइदिन्छ । अक्सर मलाई ‘तँ’ भन्न आउँदैन । म सुरु–सुरुमा काठमाडौँ आउँदा कहिले लय मिल्दैनथ्यो। कयौँ पटक छेउमा मलाई ‘नेपाली भन्दियोस्’ भनेर म नेपाली गीत बजाएर हिँड्थेँ। कहीँ देखाउनुपर्यो भने पनि मलाई अर्कै नजरले हेर्दा नागरिकता नै बोकेर हिँड्थेँ।’
उनले समाजमा कुनै पनि दलित वा सीमान्तकृत समुदायका पात्रप्रति अरू कुराभन्दा पहिले ‘मान्छे हुनुको अपनत्व’को ठूलो अभाव खट्किने गरेको बताए ।
मधेसको विपन्न बस्तीमा हुर्किँदाको अभाव र सपनाबारे चर्चा गर्दै डा. रामले आफ्नो बाल्यकालको रोचक तर मर्मस्पर्शी प्रसंग पनि कोट्याए ।
उनले भने, ‘मैले कक्षा आठमा पुग्दासम्म बस चढेको थिइनँ। बस कस्तो हुन्छ होला भनेर सोच्थेँ। पछि पेट दुखेको बहाना बनाएर पहिलोपटक बस चढेको थिएँ। त्यस्तै पहाड कस्तो हुन्छ भनेर हेर्न कक्षा १० मा पढ्दा हिम्मत जुटाएर साथीको साइकल मागेर जसरी भए पनि पहाड हेर्न गएको थिएँ।’
अहिले प्रविधि र एआईको जमानामा काठमाडौं वा बाहिरी दुनियाँ बुझ्न सहज भए पनि भुइँतहका नागरिकका लागि अझै पनि सामान्य अवसरहरू सपनाजस्तै रहेको उनले उल्लेख गरे ।
काठमाडौंको सुविधासम्पन्न जीवनशैली र मधेसका डोम समुदायको अभावबीचको भिन्नतालाई पुस्तक ‘मगनी मरिक’ले गहिरोसँग उतारेको डा. रामको भनाइ थियो । उनले अभावै अभावमा बाँचेका मानिसहरूले पनि जीवनलाई कसरी सुन्दर र प्रेमपूर्ण बनाउँछन् भन्ने कुरा पुस्तकमा सशक्त रूपमा आएको बताए ।
‘सुविधै–सुविधामा बाँचेका मानिसहरूले अभावै अभावमा हुर्किएका मँगनी र उनकी श्रीमती फुलनियाँको कथा पढ्नैपर्छ,’ उनले भने, ‘अभावै अभावबीच पनि कसरी जीवनलाई जीवन्त र अर्थपूर्ण बनाइराखेका हुन्छन् भन्ने यथार्थ ‘मगनी मरिक’मा निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ, जुन मलाई एकदमै गजब लाग्यो।’
कार्यक्रममा बोल्दै उनले पुस्तकले मधेसको भुइँतहको जीवन, पहिचानको लडाइँ र मानवीय संवेदनालाई प्रस्टसँग देखाएको बताएका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्