काठमाडौं । विपन्न बर्ग, महिला उद्यमी तथा साना-मझौला व्यवसाय क्षेत्रमा लगानी गर्ने भन्दै कुमारी बैंकले नेपाल भित्राएको १० मिलियन अमेरिकी डलरको लगानी र सोको विवरण माग्दै अधिवक्ता युवराज सफल अख्तियार पुगेका छन् । बैंकले विदेशबाट ल्याएको १० मिलियन अमेरिकी डलर बराबरको ऋणको विषयमा शंका व्यक्त गर्दै अधिवक्ता सफलले अख्तियार पुगेका हुन् । यसै पनि थुप्रै विवादमा आईरहेको कुमारी बैंकमाथि यो प्रकरणले थप प्रश्न उब्जाएको छ ।
उपलब्ध विवरणअनुसार कुमारी बैंकले २०८० असार २७ गते युरोपको लिचेस्टाइनमा आधारित EMF Microfinance Fund, AGmvK नामक संस्थासँग १० मिलियन अमेरिकी डलर ऋण लिने सम्झौता गरेको थियो। बैंकले उक्त रकम विपन्न वर्ग, महिला उद्यमी तथा साना–मझौला व्यवसाय (SME) क्षेत्रमा लगानी गर्ने उद्देश्यले ल्याइएको जनाएको छ। साथै, सो ऋण जुलाई २०२४ भित्रै पूर्ण रूपमा फिर्ता गरिसकिएको दाबी पनि बैंकको छ।

सबैभन्दा पहिलो प्रश्न ऋणको आवश्यकतामाथि उठाइएको छ। नेपालमा त्यसबेला बैंकिङ प्रणालीमा अधिक तरलता थियो र ब्याजदर पनि तुलनात्मक रूपमा न्यून थियो। यस्तो अवस्थामा विदेशबाट डलर ऋण ल्याउनुपर्ने बाध्यता वा व्यावसायिक आवश्यकता के थियो भन्ने स्पष्ट हुन सकेको छैन।
दोस्रो प्रश्न ऋणदाता संस्थाको संरचना र स्रोतसँग जोडिएको छ। उक्त संस्थाको लाभग्राही स्वामित्व (Beneficial Ownership), लगानीको स्रोत तथा वास्तविक वित्तीय पृष्ठभूमिबारे सार्वजनिक रूपमा पर्याप्त जानकारी उपलब्ध नभएको दाबी गरिएको छ। यसले कतै विदेशी ऋणको आवरणमा स्रोत नखुलेको रकम नेपाल भित्र्याउने वा कालोधनलाई वैध देखाउने प्रयास त गरिएको थिएन भन्ने आशंका जन्माएको सफलको भनाइ छ।
ऋण कहाँ गयो ?
ऋण ल्याइएको उद्देश्य विपन्न वर्ग, महिला उद्यमी र साना व्यवसायलाई सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराउने भनिए पनि वास्तविक रूपमा रकम कसलाई प्रवाह गरियो भन्ने विवरण सार्वजनिक भएको छैन।
यदि रकम ती वर्गसम्म पुगेको हो भने कुन परियोजनामा लगानी भयो ? कति ऋणी लाभान्वित भए ? र एक वर्षभित्र ऋण पूर्ण रूपमा फिर्ता गर्ने अवस्था कसरी सिर्जना भयो ? भन्ने प्रश्न उठेका छन्।
झन्, यति ठूलो परिमाणको रकम प्रयोग र फिर्ता प्रक्रियामा कुनै समस्या, पुनर्तालिकीकरण वा खराब कर्जा नै नदेखिनु पनि स्वाभाविकभन्दा बाहिरको विषय भएको भन्दै सफलले स्वतन्त्र अनुसन्धानको माग गरेका छन्।

निष्पक्ष छानविनको माग
सफलले अख्तियारसमक्ष पेश गरेको निवेदनमा विदेशी ऋणको औचित्य, रकमको वास्तविक उपयोग, ऋणदाता संस्थाको पृष्ठभूमि तथा सम्पूर्ण कारोबारको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
पछिल्लो समय विभिन्न विवादमा तानिएको कुमारी बैंकमाथि नियामक निकायबाट समेत निगरानी बढ्नुपर्ने आवाज उठिरहेको छ। विशेषगरी, विगतमा राष्ट्र बैंकको निरीक्षणबाट बच्न कर्जा सम्बन्धी फाइल लुकाउने प्रयास गरेको आरोप खेपेको संस्थाले ल्याएको १० मिलियन डलर साँच्चै लक्षित वर्गमै खर्च भयो कि भएन भन्ने प्रश्न अहिले बहसको केन्द्रमा पुगेको छ।
अब अख्तियारले यो उजुरीलाई कुन रूपमा अघि बढाउँछ र सम्बन्धित निकायहरूले के निष्कर्ष निकाल्छन् भन्ने विषयले बैंकिङ क्षेत्रको ध्यान तानेको छ।
कुमारी बैंकका कर्मचारीले विष सेवन गरेर प्राण त्यागे, श्रीमतीलाई जागिर दिएर सामसुम पारियो केस !
हाकिमको गलत हठले कालोसूचीमा परेको खातामा पनि कारोबार गर्न दिँदा कुमारी बैंक कारवाहीमा !
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्