काठमाडौँ । मोबाइल सेवा प्रदायक एनसेलले ग्राहकको स्पष्ट स्वीकृतिविना ‘अटो रिन्यु’ हुने विभिन्न भ्यालु एडेड सर्भिस (VAS) सञ्चालन गरी एक अर्ब रुपैयाँभन्दा बढी रकम असुलेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको तथ्य सार्वजनिक भएको छ।
तत्कालीन समयमा गरिएको नियामकीय छानबिनअनुसार एनसेलले Huawei App Gallery र Gameloft अन्तर्गतका विभिन्न सेवाहरू ग्राहकको पूर्वस्वीकृतिविना स्वतः नवीकरण (Auto Renew) हुने गरी सञ्चालन गरेको पाइएको थियो। प्राधिकरणले यसलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) विपरीतको कार्य ठहर गर्दै कम्पनीमाथि कारबाही गरेको थियो।
स्मार्ट सेलदेखि एनसेलसम्म : सरकारी सम्पत्ति लिलामीमा बैंकसँग कसको खेल ?, कहाँ कहाँ भयो झेल र चलखेल ?
प्राधिकरणको निर्णय नं. ४३४३ अनुसार Daily Renewal, 3-Days Renewal, Weekly Renewal तथा Monthly Renewal प्याकमार्फत २०७५ साउन १५ देखि २०७७ फागुन १८ सम्म ग्राहकबाट असुल गरिएको १ अर्ब ११ करोड १२ लाख ६७ हजार ६ सय ५१ रुपैयाँ १० पैसा सम्बन्धित ग्राहकलाई ब्याजसहित फिर्ता गर्न निर्देशन दिइएको थियो।
निर्णयमा फिर्ता गरिएको रकमको विस्तृत विवरण मासिक रूपमा प्राधिकरणलाई बुझाउन तथा रकम फिर्ता सम्बन्धी जानकारी उपयुक्त सञ्चार माध्यममार्फत ग्राहकसम्म पुर्याउन पनि भनिएको छ। ग्राहकको पहिचान हुन नसकेमा फिर्ता गर्नुपर्ने रकम छुट्टै कोषमा राखेर त्यसबारे प्राधिकरणलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको थियो।
यसै प्रकरणमा एनसेललाई ५० हजार रुपैयाँ जरिवाना समेत गरिएको थियो। साथै, उक्त सेवाबाट कम्पनीले कति आम्दानी गरेको छ भन्ने विस्तृत विवरण १५ दिनभित्र पेश गर्न निर्देशन दिइएको थियो।
छानबिनका क्रममा प्राधिकरणले ग्राहकलाई भ्रमित पार्ने गरी Subscription Page, SMS Notification, Mobile App तथा Billing System मा फरक–फरक शब्दावली प्रयोग गरिएको समेत औँल्याएको थियो। ग्राहकले आफूले कुन सेवा सक्रिय गरेका छन्, कति शुल्क तिरिरहेका छन् र सेवा कसरी निष्क्रिय गर्ने भन्ने जानकारी स्पष्ट रूपमा उपलब्ध गराउन कम्पनीलाई निर्देशन दिइएको थियो।
प्राधिकरणले ग्राहकले सजिलै सेवा बन्द गर्न सक्ने व्यवस्था गर्न तथा Ncell Mobile App मार्फत सक्रिय सेवासम्बन्धी सम्पूर्ण जानकारी हेर्न सक्ने प्रणाली विकास गर्न समेत कम्पनीलाई भनेको थियो।
उपभोक्ता अधिकारकर्मीहरूका अनुसार प्राधिकरणले रकम फिर्ता गर्न आदेश दिए पनि सो रकम सबै प्रभावित ग्राहकसम्म पुगेको विषय स्पष्ट रूपमा सार्वजनिक भएको छैन। कम्पनीले रकम फिर्ता गरेको वा कति ग्राहकले फिर्ता पाए भन्ने विवरण समेत सार्वजनिक रूपमा उपलब्ध नभएको उनीहरूको भनाइ छ।
यो प्रकरणलाई सरकारी स्तरको छानबिन प्रतिवेदनले समेत उल्लेख गरेको छ। प्रतिवेदनमा ग्राहकको सहमतिविना अटो रिन्यु सेवा सञ्चालन गरी रकम असुलेको विषयमा प्राधिकरणले एनसेलमाथि कारबाही गरेको तथ्य समावेश गरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्